समृद्धिका लागि स्थानीय सरकारको क्रियाशीलता महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समग्र मुलुकको समृद्धिका लागि स्थानीय सरकारको क्रियाशीलता आवश्यक रहेको बताएका छन् । सोमबार चितवनमा आयोजित बालअधिकार सुनिश्चिततासम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धिका लागि स्थानीय तह जिम्मेवार र क्रियाशील हुनुपर्ने बताए । 

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले नीति बनाउने र अन्य सहयोग गर्ने भए पनि कार्यान्वयन गर्ने स्थानीय तह नै भएकाले स्थानीय सरकार क्रियाशील हुन जरुरी रहेको बताए । उनले कार्यान्वयन गर्ने निकाय जिम्मेवार नबनेसम्म कुनै पनि कुरामा सफलता प्राप्त गर्न नसकिने हुँदा केन्द्र सरकारले पनि यो कुरालाई बुझेको बताए ।

स्थानीय सरकारले कोभिड महामारीका बेला खेलेको भूमिकाले पनि यसलाई पुष्टि गरेको उनको भनाइ थियो । स्थानीय सरकार जिम्मेवार नबनेसम्म सिंगो मुलुकको विकास हुन नसक्ने भन्दै स्थानीय सरकारको क्रियाशीलताले नै मुलुकलाई अघि बढाउन सकिने तथा समृद्धि हासिल गर्न सकिने उनको दाबी छ । 

प्रदेश सरकारले बालबालिकाका क्षेत्रमा प्रयाप्त काम गरेको दाबी गर्दै उनले बालबालिकाका क्षेत्रमा प्रदेश सरकारले नीति र कार्यक्रममै व्यवस्था गरेको बताए । मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेश सरकारले बालबालिकाका पक्षमा जे कुरा गरिरहेको छ, जे कुरा गर्न खोजिरहेको छ, त्यो पर्याप्त छ ।’

गोष्ठीमा बालबालिकासम्बन्धी ऐन, ०७५ मा भएका व्यवस्था स्थानीय तहमा कार्यान्वयनका लागि तीनबुँदे प्रतिबद्धता समेत जारी गरिएको छ । 





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १९:५९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया