म्यानमारमा '२२२२२' क्रान्तिको घोषणा, फेसबुकले बन्द गरिदियो सरकारी टेलिभिजनको पेज
फरकधार / ११ फागुन, २०७७
सोमबार म्यानमारको यंगुन सहरमा भएको प्रदर्शन । तस्वीर : एजेन्सी

म्यानमारमा भएको सैनिक कुविरुद्ध सामाजिक सञ्जाल फेसबुकले कदम चालेको छ । फेसबुकले म्यानमारको सरकारी टेलिभिजनको फेसबुक पेजलाई ब्लक गरिदिएको छ । 

सैन्य कदमको समर्थन गर्दै त्यसको विरुद्ध उत्रिएका नागरिकलाई चेतावनी दिँदै आएको सरकारी टेलिभिजन च्यानलको पेजलाई फेसबुकले ब्लक गरिदिएको हो । 

समाचार संस्था रोयटर्सले दिएको खबर अनुसार सोमबार फेसबुकले म्यानमारको सरकारी टेलिभिजन एमआरटिभीका दुई फेसबुक पेजमा प्रतिबन्ध लगाएको हो । एमआरटिभी र एमआरटिभी लाइभ नामका दुई पेजलाई फेसबुकले ब्लक गरिदिएको छ । 

फेसबुक कम्पनीका पब्लिक पोलिसी डाइरेक्टर राफेल फ्रान्केलले फेसबुकको सार्वजनिक नीति र सामुदायिक मानक उल्लंघनका कारण पेज ब्लक गरेको रोयटर्सलाई बताएका छन् । 

यसअघि फेसबुकले म्यानमारको सेनाले चलाउँदै आएको फेसबुक पेजलाई पनि ब्लक गरिदिएको थियो।

अमेरिका, युरोपियन युनियनका राष्ट्रसहित संयुक्त राष्ट्र संघले समेत म्यानमारको सैन्य हस्तक्षेप अन्त्य भइ प्रजातन्त्र पुनर्वाहली हुनुपर्ने माग गर्दै आएका छन् । 

सैन्य शासनविरुद्ध म्यानमारका जनताले करिब दुई सातादेखि निरन्तर प्रदर्शन गर्दै आएका छन् । सोमबार म्यानमारको यांगुन सहरमा सैन्य कु को विरोधमा ठूलो प्रदशर्न भयो । उनीहरुले सोमबारबाट '२२२२२'  क्रान्ति सुरु भएको घोषणा गरेका छन् । 

के हो २२२२२ ?

 सोमबार इस्वी संवतको मिति  २०२१–०२–२२ हो । यस मितिमा २ अंक मात्रै ५ वटा रहेका छन् । यसैलाई आधार बनाएर म्यानमारका जनताले सोमबारबाट २२२२२ क्रान्ति सुरु भएको घोषणा गरेका हुन् । 

फेब्रुअरी १ मा त्यहाँको सैन्य नेतृत्वले निर्वाचित सरकारलाई अपदस्त गरी शासन हातमा लिएको थियो । 

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार ९:९:२०,   अन्तिम अपडेट : फागुन ११, २०७७ मंगलबार ९:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया