परिस्थितिलाई आफू अनुकूल बनाउन मेरो राजीनामाको हल्ला : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले वर्तमान परिस्थितिलाई आफू अनुकूल बनाउन चाहनेहरुले आफ्नो राजीनामाको हल्ला चलाएको बताएका छन् । 

मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । आफू राजीनामा दिने सोचमा समेत नरहेको उनले बताए । उनले भने, ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’

आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाइराखेको तर आफ्नो राजीनामाका बारेमा एकपटक नसोधी समाचार आउँदा दुःख लागेको बताए । उनले भने, ‘जिम्मेवार प्रेसले कुनै पनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गरेको भन्ने जस्तो गम्भीर विषयलाई अगाडि राख्दा महान्यायाधिवक्तासँग नसोधिकन राखेको प्रति मेरो गम्भीर चासो, सरोकार छ र यसप्रति म दुःख व्यक्त गर्छु ।’

आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट नरहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउने पनि कसैको कोसिस हुनसक्छ । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने कोसिस पनि हुनसक्छ । सरकारको लडाइँलाई कमजोर बनाउने पनि हुनसक्छ । लेखिएको रहेछ कतै प्रधानमन्त्री असन्तुष्ट रहनुभयो महान्यायाधिवक्ता कार्यालय र सरकारी वकिलबाट गरिएको डिफेन्सलाई लिएर । जबकि प्रधानमन्त्रीले मलाई बोलाएरै करिब ६/७ दिनको बहसको कतिपय पाटापेक्षलाई उहाँले सुनेर तपाईंहरुले राम्रो गर्नुभएछ भनेर बधाई छ धन्यवाद छ परिणाम आफ्नो ठाउँमा छँदैछ तर जे भए पनि तपाईँहरुका तर्फबाट गरिने डिफेन्स राम्रो ढंगले भयो । हामी आशा गरेकै परिणाम सकारात्मक हुनसक्छ भन्ने कुरा उहाँले मलाई भन्नुभएको थियो ।’

यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जायर गर्नुभयो भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको बताए ।



 



  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १४:२५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया