राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।
संसद विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव बेस हुने विचार व्यक्त गरे।
प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छाचारी प्रवृत्तिको अन्त्यका निमित्त पनि चुनाव आवश्यक भएको भन्दै थापाले भने, ‘अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्यान्डेट थिएन, कांग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्ने छ ।’
गृहजिल्ला मकवानपुरमा टोल-टोलमा राप्रपा अभियान सञ्चालन गरिरहेका थापाले आज हेटौंडा १३ को पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै निषेधको राजनीतिले मुलुकलाई सङ्कटतर्फ लैजाने भएकाले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए । थापाले विगत १४ वर्षको राजनितिक रोडम्यापले निकास दिन नसक्ने भएकाले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्ने बताए ।
स्वाधीन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए । गणतन्त्र, धर्म निरपेक्ष र संघीयता विदेशीको एजेन्डा भएकाले त्यो भारी बिसाउनु पर्ने उनको धारणा थियो। ‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिको आधारित होस्’, थापाले भने । भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई थप अधोगति तर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए ।
कार्यक्रममा बोल्दै नेता मधु अधिकारीले काङ्ग्रेस कम्युनिस्ट असफल भएकाले राप्रपा अब जनताको छनोट हुनुपर्ने भएको भन्दै संगठन सुदृढीकरणमा जोड दिए । कार्यक्रममा नेताहरु राजाराम बर्तौला, गुरु सापकोटा, इन्दिरा डल्लाकोटी, गुन्जन न्यौपाने, कृष्ण मैनाली, दामोदर वाग्ले, भवनाथ दुलाल, चन्द्र लामा, किशोर मैनाली, भृगु कार्की लगायतको उपस्थिति थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।