टिएमएसमा समस्या तैपनि दोहोरो अङ्कले बढ्यो सेयर बजार
कारोबार रकममा भने संकुचन

पछिल्लो दुई दिन निरन्तर ओरालो लागेको सेयर बजार अन्ततः आज दोहोरो अङ्कले बढेर बन्द भएको छ । यद्यपि टिएमएसमा समस्या आउँदा कारोबार रकममा भने संकुचन आएको छ । 

दैनिक ८ अर्ब माथिको सेयर कारोबार हुँदै आएकोमा बुधबार भने कारोबार रकम ६ अर्ब रुपैयाँमा झरेको छ । यस दिन २०४ वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँमा खरिद–बिक्री भएको नेप्सेले देखाएको छ ।

बुधबार कारोबार खुलेसँगै बढ्न सुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासि ८२ अङ्कले घटेको थियो । संसद पुनःस्थापनापछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानी कर्ताहरू नेप्सेको वेवसाइट हेरेर अलमलमा परे ।

नेप्सेले गलत सूचना दिएका कारण निकै ठूलो अङ्क घटेको देखिएको बजार अन्ततः दोहोरो अङ्कले बढेर बन्द भएको छ । नेप्सेमा कारोबार हुने १२ समूहमध्ये २ वटा समूह हाइड्रोपावर र अन्यको सबइन्डेक्स घटेको छ भने बाँकी १० वटै समूहको सबइन्डेक्स बढेको छ ।

मंगलबार भएको संसद पुनःस्थापनापछि सेयर बजारमा उल्लास छाउने अपेक्षा गरिएको थियो । तर, नेप्सेको साइटमा आएको समस्या कारण बजार राम्रोसँग बढ्न पाएन । प्राविधिक समस्या देखिएपछि किनबेच गर्नै द्विविधा भएको लगानी कर्ताहरूले बताएका छन् ।

समस्या समाधान भएपछि भने बजार बढ्न थाल्यो । अन्तमा सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५६ अंकले बढेर २ हजार ५९९ दशमलव ०७ अङ्कमा पुगेको छ ।



‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४० अङ्कले उकालो लागेको छ ।

होटल र बिमा समूह बढ्यो



बुधबार होटल र बिमा कम्पनीहरूको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस दिन होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.३१ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा र जीवन बिमा उपसमूहको सूचक क्रमशः १.४२ प्रतिशत र १.०२ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै १.११ प्रतिशतले घटेको छ ।

उच्च मूल्य वृद्धि हुने कम्पनीमा आइएमई जनरल इन्स्योरेन्स

बुधबार आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर ११ सय रुपैयाँ पुगेको छ । यसबाहेक नेपाल फाइनान्सको ९.९७ प्रतिशत, चन्द्रागिरि हिल्सको ९.९४ प्रतिशत, र नेपाल बैङ्कको सेयर मूल्य ५.३० प्रतिशतले बढेको छ ।

यस दिन नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर मूल्य सबैभन्दा धेरै ५.३९ प्रतिशतले घटेर ५६२ रुपैयाँ कायम भएको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको ४.७१ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ४.४२ प्रतिशत, युनाइटेड इदी मर्दीको ४.३८ प्रतिशत र शिव श्री हाइड्रोपावरको सेयरमूल्य ४.०४ प्रतिशतले घटेको छ ।

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १६:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया