नैतिकता छ भने राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्माआलोचना गर्दै राजीनामा दिन सुझाब दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै  उल्ट्याएपछि नैतिकताका आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने उनले बताए । नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लिनुपर्ने पनि बताए । गौतमसँग गरिएको कुराकानीको सारांश :

प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनर्स्थापित गरेको छ । र, यसले स्वेच्छाचारी तरिकाले मनपरी जे मन लाग्यो त्यही गर्दै हिँडन पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधानबमोजिम, नेपालको संविधानको मर्म र भावनाबमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ, त्यो सबै असंवैधानिक हुन् भनेको हुनाले प्रतिनिधिसभा मात्रै पुनर्स्थापित होइन, अरु धेरै काम पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु । 

मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टी भित्रको राजनीति सबै खलबलिएको थियो । अब कोर्स कताबाट सुरु गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ, कसको के भूमिका हुनुपर्छ ? तपाईंले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा अब कुन सिराबाट सुरु हुन्छ ?

पार्टी एकताको निम्ति सुरु गर्नुपर्ने दुईवटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनुभएन । पार्टी त विभाजन भइसक्यो, अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन, फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम प्रचण्ड–माधवहरुले हो भनेर यतातिर भनेको छ, अनि साइडबाई साइड पार्टी फुटाउने वामदेव हो भनेर दुरवैले आ–आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । राम्रो भए मात्रै आफूले जिम्मा लिने नराम्रो भयो भने त्यसको अरुलाई लगाउने, आफैँ गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरुलाई अगाडि सार्ने र उनीहरुले गर्दाखेरी नै यो सबै भएको भनेर भन्ने चलन छ । एउटा हुँदाखाँदाको पार्टी नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरु हिँडनुभएको छ । यो पुनर्स्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुनर्स्थापित गर्नुपर्छ । यद्यपि, सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ । ​

हिजो जसले निर्णय गरेको थियो त्यो निर्णय अवैधानिक गरिसकेको छ भनिसकेको अवस्थामा प्रधानमन्त्री र प्रधानमन्त्रीलाई असंवैधानिक छ भनी हिजो पनि हट र आज पनि हट भनेर भन्ने अर्को पक्षबीच अब कसको पहिलो स्टेप हुनुपर्छ । कहाँबाट सुरु हुनुपर्छ ?
 
जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट सुरु हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुनेँ । उहाँले चाल्नुभएको कदम सही सावित भएको छ । केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो । उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरुले मान्दैनन् । त्यसैले जसले आफूलाई म विजयी भएँ भनेर भन्छ उसले भन्ने हो । तर, प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइनँ । पार्टी एकता हुन्छ पार्टी एकता गर्नुपर्छ अब सबै साथीहरु एकजुट हुनुहुन्छ । म उहाँहरुलाई आह्वान गर्छु, एकता हुनको निम्ति भनेर भन्नुभन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस भनेर भन्नुहुन्छ । त्यो भएर जिम्मेवारी कसैले पनि लिनुभएन । लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्डले हो । माधव नेपालले हो  । पार्टी फुटिसक्यो, त्यो फुटेको पार्टी गइसक्यो अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरुको अभिव्यक्ति पाइयो । त्यो अभिव्यक्ति उहाँहरुको निम्ति त सही होला, तर मलाई राम्रो लागेन । 



अब तपाईं के गर्नुहुन्छ ?

मैले औपचारिक र अनौपचारिक रुपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुईवटा अध्यक्षलाई नै गएर भन्छु, महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस् भनेर । केपी ओलीले असंवैधानिक काम गर्नुभयो, तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्माआलोचना गर्नुपर्छ । मैले यस्तो गरेँ, त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ । अब म आत्माआलोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरु पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौँ भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिलेसम्म मैले सुनेको छैन । त्यसो भएर हामीहरुले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथीहरु जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौँ र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकताबद्ध हुनको निम्ति एउटा ठूलो दबाब सिर्जना गर्ने हो त्यो गर्छौं । ​



सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपतिमाथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ? 

नैतिकताको प्रश्न नीति मान्नेहरुलाई उठ्दो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ । तर, म के ठान्छु भने लामो समय कम्युनिस्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ । त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नुभएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनका निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपथ्र्यो । सर्वोच्च अदालतको निर्णय बाहिर आउनेबित्तिकै राजीनामा गर्नुपर्थ्यो । अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरि पनि भन्न चाहन्छु– उहाँले तुरुन्तै राजीनामा गर्नुहोस् । 

राजीनामा गरेर पार्टी एकताको आह्वान गर्नुहोस् । मैले गल्ती गरेको थिएँ म आफूलाई सच्याउन चाहन्छु, त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौँ भनेर उहाँले भन्नुपर्छ । 

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १७:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया