लाखौँ खर्चेर बनाएको कवर्डहल प्रयोगविहीन
वीरेन्द्रनगर रंगशालाको पूर्वतर्फ रहेको कवर्डहल । निर्माण गरिएको लामो समयसम्म उचित प्रयोगमा नआउँदा र मर्मत संहार नहुँदा यो जीर्ण बन्दै गएको छ । तस्बिरि : वसन्त भण्डारी/फरकधार ।

वीरेन्द्रनगर–८ स्थित रंगशाला क्षेत्रमा निर्माण गरिएको कवर्डहल प्रयोगविहीन अवस्थामा छ । निर्माण गरिएको ६ वर्ष पुग्दा पनि उचित प्रयोगमा आउन सकेको छैन ।

न्यून मात्रामा खेलकुदका गतिविधि हुने कर्णालीमा खेलकुदका कार्यक्रमलाई व्यवस्थित गर्नका लागि २०७१ सालमा कवर्ड हलको निर्माण गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्को झण्डै ९३ लाखको लगानीमा निर्माण गरिएको कवर्ड हल निर्माण भए यतादेखि नै प्रयोगविहीन छ । चारै तिरबाट खुला रहेको कवर्ड भद्रगोल अवस्थामा जीर्ण बन्दै गएको छ ।

खुला कवर्ड हल हुँदा पानी पर्दा भिज्ने घाम लाग्दा गर्मी हुने भएका कारणले पनि प्रयोगविहीन भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख रामबहादुर वलीले बताए ।

‘कवर्ड हल निर्माण भएदेखि हालसम्म कुनै पनि प्रयोगमा आएको छैन,’ उनले भने, ‘त्यहाँ राखिएका पानी ट्याङ्की, धाराहरू, शौचालयका सामग्री सबै चोरी भइसकेका छन् । वर्षातको समयमा पानी भित्र जान्छ केही काम गर्न सकिँदैन । खेलाडीहरूले त्यसबाट कुनै पनि किसिमको फाइदा लिन सकेका छैनन् ।’

कवर्डहललाई पुनः प्रयोगमा ल्याउनका लागि चारै तिरबाट घेरबार लगाउनुपर्ने उनको भनाइ छ । कवर्डहल घेरवारका लागि विभिन्न समयमा अध्ययन गरेर प्रदेश सरकार र केन्द्र सरकारलाई बुझाउँदा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । कर्णाली प्रदेश खेलकुद परिषद् गठन भएसँगै कवर्डहल सञ्चालनमा आउने उनले आशा व्यक्त गरे । यसरी राज्यले निर्माण गरेर छाडेको कवर्डहलमा विभिन्न क्षेत्रले मनपरि कार्यक्रम समेत गरेको पाइन्छ । 

प्रदेशमा पर्याप्त रंगशाला नहुनु, निर्माण गरिएका कवर्डहल प्रयोगविहीन हुनु जस्ता कारणले नै कर्णाली प्रदेश खेलकुदको क्षेत्रमा पछि परेको चुली युवा क्लबका कोच मोतिराम रम्तेलले बताए । सरकारकारले लाखौँ खर्च गरेर कवर्ड हल बनाएको तर खेल खेलाउनका लागि उपयुक्त नभएको उनको भनाइ छ । खेलकुदका लागि उपयुक्त भौतिक संरचना नहुँदा खेलाडीको स्वास्थ्यमा समेत विभिन्न समस्या आउने गरेको उनको भनाइ छ ।



सम्बन्धित निकाय मौन बस्दा कवर्डहल लामो समयसम्म प्रयोगविहीन अवस्थामा पुगेको युवा युवती बस्ने स्थल, शौच गर्ने थलो बनेको उनले बताए । कवर्ड हलको अहिलेको भौतिक संरचना हेर्दा प्रयोगमा ल्याउन सक्ने अवस्था नभएको अर्का कोच दीपक बहादुर शाहीले बताए । एकातर्फ ठूलो रकम खर्च गरेर निर्माण गरिएको भौतिक संरचना प्रयोगविहीन अवस्थामा छाडिनु अर्काे तर्फ खेलाडीलाई पर्याप्त अभ्यासका लागि क्षेत्र नहुनु दुःखद कुरा भएको खेलाडीहरूको गुनासो छ ।



  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १८:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया