साविकको ७५ वटा गाविस रहेको अछाम जिल्लाभरि १५ वटा मात्र सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध छ । तर, पछिल्लो समय स्वास्थ्यकर्मीको अभावका कारण ती सेवा पनि बन्द हुन थालेका छन् । सुरक्षित गर्भपतनको सेवा बिस्तार र सेवामा सहज पहुँच पुर्याउनु पर्छ भन्दै आवाज उठिरहेका बेला दक्ष जनशक्तिको अभावमा सेवा बन्द हुने अवस्थामा पुगेको हो ।
जिल्ला अस्पताल मंगलसेन, बयलपाटा अस्पताल, कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र, चौरमाण्डौँ प्राथमिक स्वास्थ केन्द्र, विनायक स्वास्थ चौकी, शान्तडा स्वास्थ्य चौकी, हिच्मा स्वास्थ्य चौकी, बारला स्वास्थ्य चौकी, जुपु स्वास्थ्य चौकी, तुर्माखाद स्वास्थ्य चौकी, जयगढ स्वास्थ्य चौकी, मार्कु स्वास्थ्य चौकी, पायल स्वास्थ्य चौकी, दुनी स्वास्थ्य चौकी र मेल्लेख स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।
यीमध्ये कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र, विनायक स्वास्थ चौकी, हिच्मा स्वास्थ्य चौकी, पायल स्वास्थ्य चौकी, मार्कु स्वास्थ्य चौकी, दुनी स्वास्थ्य चौकी र तुर्माखाद स्वास्थ्य चौकीमा सेवा बन्द भएका छन् ।
सेवा बन्द हुँदा सेवा लिनेको संख्या समेत घटेको छ । आर्थिक वर्ष ०७५/७६ मा १ हजार ४७८ जनाले सेवा लिएका थिए भने गत आर्थिक वर्षमा सेवा लिनेको संख्या घटेर १ हजार ९ पुगेको आइपासको तथ्यांकले देखाएको छ । सुरक्षित गर्भपतन सेवाका लागि २९ जना तालिमप्राप्त स्वास्थ्यकर्मी रहेकोमा अहिले १२ जनामा मात्र छन् ।
स्वास्थ्यकर्मी समायोजनको असर स्वास्थ्य क्षेत्रमा पनि परेका कारण सेवा बन्द हुन पुगको स्वास्थ्य कार्यालय अछामका प्रमुख झन ढुंगानाले बताए । उनले भने, ‘तालिम प्राप्त स्वास्थ्यकर्मी समायोजनका कारण अन्यत्रै गए, ग्रामीण भेगमा स्वास्थ्य क्षेत्रमा निकै असर परेको छ, सुरक्षित गर्भपतन सेवा बिस्तार हुनुको साटो स्वास्थ्यकर्मी नहुँदा बन्द हुँदैछन्, यसमा सरकारको चासो गएको देखिँदैन ।’
प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेर देशकै नमुना अस्पताल बनेको बयलपाटामा रहेको २८ हप्तासम्मको गर्भपतन सेवा पछिल्लो समय बन्द भएको छ । अस्पतालमा चिकित्सक नहुँदा ३ महिनादेखि यो सेवा बन्द छ ।
सूचीकृत स्वास्थ्य संस्थाको अभाव, अनिश्चित गर्भ, परिवार नियोजनका साधनहरू प्रयोग नगर्नु, सूचीकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गर्न लाज मान्नु लगायतका कारणले अहिले पनि महिलाहरू ज्यानलाई जोखिममा राखेर असुरक्षित गर्भपतन गराइरहेको आइपासले जनाएको छ ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले तालिम प्राप्त स्वास्थकर्मीको अभावले ३ वटा स्वास्थ चौकीमा सेवा प्रभावित भएको बताए । उनले भने, ‘तालिम लिएर ५ जना आइसक्नु भएको छ । उहाँहरूको तालिमको प्रमाणपत्र आउनासाथ सेवा सुचारु हुन्छ । दुनी, मार्कु र पायलमा रोकिएको सेवा छिट्टै सुरु हुन्छ ।’ पहिले जस्तो तालिमका लागि छुट्टै बजेट आउँदैन, तालिमका लागि पनि सीमित कोटा हुने भएकाले समस्या भएको उनले बताए ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ अधिकार ऐन २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने प्रावधान रहेको छ । गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुनसक्छ वा बिकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको रायमा र बलात्कार वा हाडनाता करणीमा २८ सातासम्मको गर्भपतन गर्न पाउने व्यवस्था छ । त्यसैगरी एचआईभी वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाले पनि २८ साताको गर्भपतन गर्न पाउने व्यवस्था छ ।
औषधी र औजार प्रयोग गरी सुरक्षित गर्भपतन गराउन सकिने चिकित्सकले बताएका छन् । औषधी विधिद्वारा ९ साता भित्रको गर्भलाई मात्र सुरक्षित गर्भपतन गर्न सकिन्छ । १२ सातासम्म्को गर्भलाई साधारण उपकरणको प्रयोगद्वारा सुरक्षित गर्भपतन गर्न सकिन्छ । विशेष अवस्थामा १२ हप्ताभन्दा माथिको गर्भलाई पनि औषधीद्वारा र उपकरणद्वारा सुरक्षित साथ गर्भपतन गर्न सकिन्छ ।
नेपाल सरकारले २०७३ देखि सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सेवालाई निःशुल्क प्रदान गर्दै आएको छ । औषधी विधिद्वारा गरिने गर्भपतन सेवा नेपालका ६१ जिल्लामा छ भने १२ हप्ताभन्दा माथि गर्भपतन सेवा २९ वटा अस्पतालमा रहेको आइपास नेपालले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।