म्यानमारमा विद्यार्थी र डाक्टरहरुले बिहीबारदेखि नयाँ शिराबाट आन्दोलन सुरु गर्ने भएका छन् । सेनाले शासन आफ्नो हातमा लिँदै देशमा संकटकाल लगाएसँगै म्यानमारमा प्रदर्शनहरु भइरहेका छन् ।
गत नोभेम्बर ८ मा भएको निर्वाचनमा नेतृ आङ सान सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले धाँधलीमार्फत चुनाव जितेको भन्दै सेनाले एनएलडीका नेताहरुलाई नियन्त्रणमा लिँदै देशमा सैनिक शासन सुरु गरेको थियो ।
यस घटनापछि मलेसियाले आफ्नो देशमा रहेका म्यानमारका ११ सय नागरिकलाई डिपोर्ट गरेको छ । मलेसियन कदमको पनि विरोध गर्दै विद्यार्थीहरुले नयाँ ढंगबाट आन्दोलन अगाडि बढाउन खोजेका हुन् । अमेरिकाले पनि मलेसियाको कदमको विरोध गरेको छ ।
तीन सातादेखि जारी आन्दोलन अन्तर्गत आज विद्यार्थीहरुले याङ्गुनको व्यापारिक केन्द्रमा र्याली गर्ने भएका छन् । उनीहरूले र्यालीमा सैन्य शिक्षालाई बढावा दिने किताबहरु लिएर आउन भनेका छन् ।
आजको र्यालीपछि सैन्य शिक्षा दिने किताबहरुलाई सैनिक शासनको विरोधमा जलाएर प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी छ । विभिन्न क्षेत्रका व्यक्तिहरुसँगै विरोध प्रदर्शनमा सरकारी कर्मचारी पनि सहभागी हुँदैछन् ।
यसअघि, हिजो भएको प्रदर्शनका क्रममा ७२८ जना पक्राउ परेका छन् । प्रदर्शनरत अधिकार समूहका अनुसार उनीहरुलाई सेनाविरुद्ध प्रदर्शन गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
सेना प्रमुख मिन आङ हल्याङले आन्दोलनरत पक्षसँग प्रजातान्त्रिक वार्ता हुने बताएका छन् । उनले विरोध प्रदर्शनमा सामान्य प्रहरी बल प्रयोग हुने र बढीमा रबरको गोलीसम्म प्रयोग हुनसक्ने बताएका रोयटर्सले लेखेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।