एसियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनर्निर्माण गरिँदै
स्वीट्जरल्याण्डका भूगोलशास्त्रीलाई आश्चर्यचकित नाएको थियो
फाइल फोटो

एसियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनर्निर्माणका लागि केही समय अघि बोलपत्र आह्वान गरिएको छ। सरकारले केही दिनअघि नै यस सुरुङमार्गको पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। 

पुनर्निमार्णका लागि अधिकतम ५ करोड रुपैयाँमा काम सम्पन्न गर्नुपर्ने गरी ठेकेदार कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गरेको मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय प्रमुख सहदेव बहादुर भण्डारीले जानकारी दिए।

‘प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनर्निमार्ण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ’ प्रमुख भण्डारी भन्छन्, ‘सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण पनि गरिने तयारी रहेको छ।’  

प्रदेश–२ को बाराजिल्ला र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्षअघि सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको थियो। उक्त मार्गबाट वि.सं २०२० सम्म सवारी आउजाउ हुने गरेको जानकाहरु बताउछन्। 

विसं २०१८ तिर चुरियामाई सुरुङमार्ग हुँदै यात्रा गरेका अग्रजहरुका अनुसार त्यस सुरुङमार्ग सञ्चालनताका भारतबाट बाराको अमलेखगञ्जसम्म रेलसमेत आउँथ्यो। रेलपछिसम्मै चलेपनि सुरुङमार्ग भने बन्द भयो। उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको उनीहरु बताउँछन्।

त्यतिबेला भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौं पुर्‍याइने गरिन्थ्यो। अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो। ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने हुन्थ्यो। 



समय र इन्धनको समेत खर्च बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पका लागि सुरुङ खनेको थिए। आजभन्दा १०४ वर्षअघि बनेको उक्त सुरुङ नेपालको पहिलो सुरुङ थियो। त्यतिखेर एसियाको कुनैपनि देशमा सुरुङमार्ग थिएन। 

त्यस बखत नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा सुरुङमार्गका बारेमा लेखेका थिए। उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा उल्लेख गरेका छन्।



स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न आएका हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन्।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राखेको छ। चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण गरिएको थियो। विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको छ। हाल पहिरोले एकतर्फको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको प्रमुख भण्डारी बताउँछन्। 

नेपालका पहिलो इञ्जिनियर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ। इञ्जिनियर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस् त्यसको सट्टाामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर’ भनेका कारण थापाले मन्दिर बनाएको इतिहास भेटिन्छ।

  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १३:१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया