अन्शुलाई ज्यूँदै कात्रो ओढाउने नेपाली समाजको कथा
भन्छिन् : हामीले नबोले परिवर्तन सम्भव छैन

उनको कलिलो गालामा गाउँकै अंकलहरूले मायाले म्वाइँ खान्थे। कपाल मुसार्थे। स्पर्श गर्थे र बोकेर हिँड्थे परसम्म। त्यो स्पर्श, त्यो माया र चुम्बनमा आफ्नै पिताको जस्तो मुलायमता भेटिँदैनथ्यो। खस्रा लाग्थे उनीहरूका हात। खै! किन बिझाउँथ्यो उनीहरूको चुम्बन थाहा हुँदैनथ्यो उनलाई। हुर्कँदै गइन्। गाउँकै दाइहरू उनको अनुहारभन्दा तल आँखा झुकाएर हेर्थे। के हेर्थे त्यसरी झुकेर त्यो बुझ्न उनलाई आफैं हुर्किनु पर्‍यो। उनी अर्थात अहिले चर्चाको शिखरमा रहेकी एक युवती अन्शु खनाललाई। 

उनलाई अहिले लाग्छ ‘सानैबाट छोरीहरू यस्तै अनेक तरिकाले हिंसाको शिकार बन्दा रहेछौँ’। उनी मात्रै होइन, गाउँमा अंकल, दाइ सम्बोधन गरिएकाहरूबाट उनकै उमेरका साथीहरूले उस्तै प्रकारको माया पाए। गाउँको माया र सम्बोधन यो सहरको जस्तो टाढा कहाँ हुन्थ्यो र ? तर, पुरुषत्तो त जहाँ पनि उही हुने रहेछ। अन्शुले स्कुल पढ्दा नै बुझिसकेकी थिइन्। 

सानैबाट जुझारु स्वभावकी उनी तत्काल प्रतिकार गर्थिन् ‘ब्याड’ टचिङहरूको। मन नपरेका कुरा मन परेन भनिदिन्थिन्। स्कुलमै पनि फाइट गर्थिन् आफूविरुद्ध नराम्रो बोल्नेहरूसँग। उनको घरसम्म त्यो खबर पुग्थ्यो ‘तिम्री छोरी संस्कारी छैन’। उनको एउटै जवाफ हुन्थ्यो, ‘छोरीहरूलाई गिद्धे नजरले हेर्ने मान्छेहरूका हरेक कुरालाई हस् भनेर मान्नुपर्छ भने मलाई संस्कारी हुनुछैन’। उनलाई त्यसबेला नै लाग्थ्यो नमिठो लाग्ने हर कुरासँग बहस गर्न पाउनुपर्छ छोरीहरूले।

 उनका आफ्नै दाजुभाइ छैनन्। छोरी मात्रै पाएका कारण समाजले दिएको प्रताडनाले आमाका आँखाबाट झरेको आँसु हेर्दै हेर्दै उनी हुर्किएकी थिइन्। अन्शुलाई  आमामाथि भएको त्यो व्यवहार एकखालको हिंसा रहेछ भनेर बुझ्न लामो समय लाग्यो।

कलेज पढ्ने भएपछि सार्वजनिक यातायात होस् अथवा कलेजभित्रै पनि थुप्रै पटक ‘ब्याड’ टचको शिकार हुनुपर्यो उनले। सार्वजनिक यातायातको ठेलाठेलमा महिलालाई केही सेकेन्ड छोएर पुरुषहरूले कुन सन्तुष्टि पाउँथे, त्यसको जवाफ अहिले पनि पाएकी छैनन् उनले। तर, उनका आँखाले थुप्रै पटक यस्ता दृश्य नियाले। कयौँ पटक आफैँले पनि महसुस गरिन्।

शिक्षित र परिवर्तित भनिएको शहरमा त छोरीहरूले हरेक ठाउँमा आफूलाई जोगाउन प्रत्येक पल सचेत हुनुपर्छ, झन दूरदराजमा अवस्था के होला ? अन्शु आफैंलाई प्रश्न गर्थिन् र गरिरहेकी छन्। 



उनी वर्षौँअघि स्कुलबाट फर्कँदै गर्दा आँखाको डिलबाट झर्दै गरेको आमाको आँसु सम्झिन्थिन्। उनलाई लाग्थ्यो, ‘आमाले त्यहाँको समाज, चेतनाको स्तर र बोल्दा सिंगो परिवारमा पर्ने असरका कारण विद्रोह गर्न सक्नुभएन। आज मेरो पुस्तालाई मेरै बा आमाको साथ छ। मैले बोल्नुपर्छ’, उनी भन्छिन्, ‘स्कुल पढ्दै म बोल्न सक्थेँ। म बोल्दा, नराम्रा कुरालाई नराम्रो भन्दा मेरा बुवा आमालाई समस्या थिएन। बोलेकै कारण समाजले राम्रो मान्दैनथ्यो। तर, मलाई सिंगो समाज एकातिर अनि बुबाआमा अर्कोतिर राख्दा उहाँहरूकै भरोसाको पल्ला भारी लाग्थ्यो।’

उनी हुर्कंदै गर्दा कयौं छोरीको बलात्कार र हत्याका खबर बोकेका अखबार उनको दैलोसम्म पुग्थे। बालिका बलात्कार र हत्याका खबर पढ्दा–पढ्दै अन्शुको मन पग्लिएर कतिपटक आँखाबाट आँसु खस्यो लेखाजोखा छैन उनीसँग। 



गोरखा, आरुघाटकी अन्शुको मन त्यतिबेला नमज्जाले भाँचियो, जतिबेला कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। बलात्कार र हत्याको खबरले यसअघि पनि उनको मथिङ्गल नघुमेको होइन। तर, यो मृत्यु र मृत्युपछिका तस्विरले उनको निद्रा निक्कै दिन बिथोलियो। यति बेलासम्म उनी ‘आभा-फर क्रिएटिभिटी’ संस्थामा जोडिइसकेकी थिइन्। संस्थासँग जोडिएर हिंसाविरुद्ध बोल्न थालेपछि उनलाई लाग्यो, ‘एक्लै भन्दा समूहमा आवाज उठाउन सजिलो हुने रहेछ’। तर, यहाँ पनि छोरी मान्छेको संख्या निक्कै कम भयो। छोरी मान्छेका हरेक भूमिका अन्शु एक्लै निर्वाह गर्थिन्। 

महिला हिंसा, बलात्कार र हत्याका विषयमा बहस गर्दै गर्दा हिजो गाउँमा उनलाई ‘ब्याड’ टचको शिकार बनाउने अंकल, दाइहरूका छोरी हुर्कँदै थिए। उनलाई लाग्यो ‘मेरो उमेरका गाउँका तन्नेरीहरूले मेरी बैनीको उमेरका किशोरीहरूलाई नराम्रो नियतले हेर्दा प्रश्न गर्न सक्ने बनाउनु पर्छ। मेरो पुस्ताले हिंसाको प्रतिकार गर्न सिकाएन भने बहिनी पुस्तालाई पनि आमा पुस्तालाई जस्तै सहने बानी लाग्छ। समाज परिवर्तन हुनै सक्दैन।’ उनी आफैंमाथि गलत नियत राख्ने अंकल, दाइहरूका छोरीहरूलाई समाजका गलत हेराइ र बुझाइबारे सिकाउन थालिन्। 

स्कुलमा एक्लै बोल्ने अन्शु समूहमा बोल्ने भइन्। बलात्कारविरुद्ध कविता मात्रै होइन, समाचार नै लेख्ने भइन्। तर, समाजमा बलात्कारका घटना घट्नुको साटो झन् झन् बढ्दै गए। 

समाजका यी यावत घटनाले उनलाई यसैपनि ज्यूँदो लास बनाउँथ्यो। गत माघ ३० गते काठमाडौंको वसन्तपुरबाट उनै अन्शुको शवयात्रा निस्कियो। स्वास फेरिरहेकी उनले मुर्दा बनेर बाँसको खटियामा सुतेका बेला थुप्रै पटक आफ्नी आमालाई सम्झिरहिन्।

बालिका बलात्कार र हत्याको विरोधमा भएको नागरिक आन्दोलनको यो चरणमा निस्कनुअघि उनकी बहिनीले सोधेकी थिइन्, ‘कता जाँदै हुनुहुन्छ?’ उनले जवाफ दिएकी थिइन्, ‘आन्दोलनमा’। बहिनीले त्यतिबेला भनेकी थिइन्, ‘आफ्नै गाउँमा २ वर्षमा ४ जना बालिका बलात्कृत भए। कसका लागि आन्दोलन गर्नुहुन्छ?’ उनले बहिनीको यो प्रश्न बारम्बार सम्झना गरिन्। आफू पछिपछि आउँदै गरेको मलामीको भीडलाई हेर्दै मलामीकै काँधमा बसेर सोचिरहिन्, ‘मेरो पछि दौडिरहेको यो भीडले चाहेको महिला हिंसा अन्त्यको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ’। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै ‘महिला मार्च’मा उनीसहितले सांकेतिक विद्रोह जनाएका थिए। जिउँदै शव बनेकी अन्शुका अनेक अनुभव छापिए। विद्रोहको यो परिकल्पना पनि अन्शुकै थियो। मैतीदेवीको बाटोमा हिँड्दै गर्दा शव बनेर बलात्कार तथा प्रतिगमनको विरोध जनाउने परिकल्पना गरेकी अन्शुले आफूलाई साथ दिने कलाकार रसिक राज, प्रज्वल अधिकारी, राजु झल्लुप्रसाद तथा प्रभात तिमल्सिनालाई पनि बारम्बार सम्झना गरिन्। उनले भनिन्, ‘हरेक परिवर्तनका लागि साथ ठूलो कुरा हो।’

आफ्नै शव यात्रा निस्कनुअघि अन्शुलाई लाग्यो ‘यो दृश्य मेरा भाइहरूले पनि देख्नुपर्छ। यस्ता दृश्यले गर्दा भोलि मेरा भाइहरूले कुनैपनि छोरीहरूलाई गलत नजरले हेर्न नसकोस्।’ 

उनले आफ्ना अंकलका २ छोरालाई कार्यक्रममा ल्याइन्। परिवारका कसैलाई नभनी यो नाटकमा सामेल भएकी अन्शुलाई घरको डर थियो। सबैभन्दा धेरै समाजको डर थियो। तर, सबैतिरबाट स्याबासी पाइन्। आमा बुबाको पहिलेबाटै साथ थियो। 

उनका श्रीमान् उनीसँगै यात्रामा थिए। ससुरा बुवाले फोन गरेर ‘राम्रो गर्‍यौ। अझै राम्रो गर्नु हामी साथमा छौँ’ भनेपछि सबै डर हरायो। भन्छिन्, ‘हामीले पनि समाजले के भन्ला भनेर हिंसाको विरोधमा नबोल्ने हो भने परिवर्तन कहिल्यै सम्भव छैन।’ 

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार ११:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया