उच्च अदालत जनकपुरमा लक्ष्यअनुरुप मुद्दा फर्छ्योट भएन

उच्च अदालत जनकपुरले वार्षिक लक्ष्य र सोको प्रगति विवरण सार्वजनिक गरेको छ । जसअनुरुप उच्च अदालतले लक्ष्य अनुरुप मुद्दाहरुको फर्छ्योट गर्न नसकेको देखिएको छ । चालू आर्थिक वर्षमा लक्ष्यको २५‍.५ प्रतिशत मुद्दा मात्रै उच्च अदालत जनकपुरले फर्छ्योट गर्न सकेको हो ।
 
चालू आर्थिक वर्षमा २ हजार ९ सय ५८ मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेकोमा तीमध्ये माघ मसान्तसम्ममा मात्र २ हजार ३ सय ४५ मुद्दा फर्छ्योट गर्नुपर्ने थियो । यद्यपि, अदालतले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ५ सय ९८ मुद्दार मात्रै फर्छ्योट गर्न सकेको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । 

कोरोना महामारी र जनशक्ति अभावका कारण मुद्दा फर्छ्योट गर्न कठिनाइ भइरहेको अधिकारीले बताए । उनले समयमा मुद्दाहरु फर्छ्योट हुन नसक्दा मुद्दाका चापसमेत बढ्दै गइरहेको बताए ।
 
उच्च अदालत जनकपुरमा ९६ जना कर्मचारीको दरबन्दी रहेकोमा ५६ जना कर्मचारी मात्रै कार्यरत रहेको उनले दुःखेसो सुनाए । रजिस्ट्रार अधिकारीले जनशक्ति अभावकै कारण कानुनी ज्ञानमा पोख्त नभएका कर्मचारीसँग समेत काम निकाल्नुपर्ने बाध्यता रहेको बताए । उनले उच्च अदालत जनकपुरमा दैनिक २० देखि २५ वटा मुद्दा दर्ता हुँदै आइरहेको जानकारी दिए । 

त्यस्तै, उच्च अदालत जनकपुरमा ०७७ साउनदेखि माघ मसान्तसम्मको पेसी संख्या ६ हजार ८०८, पक्षबाट स्थगित ६१५, कानुन व्यवसायीबाट स्थगित १ हजार ६८३, हेर्न नभ्याइएको १ हजार २३०, हेर्न नमिल्ने ३५, सरकारी वकिलबाट स्थगित ५०४, फैसला भएको ५९८ र आदेश गरिएका २ हजार १३९ वटा मुद्दा रहेका छन् ।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १८:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया