इजरायली कृषि प्रविधि सातै प्रदेशमा : कृषि मन्त्री अर्याल

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिएकी छिन् । 

नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्र्याउने सन्दर्भमा बिहीबार (आज) इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातै प्रदेशमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिइन् । कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको उनले जानकारी दिइन् । 

इजरायली कृषि प्रविधिलाई नेपाल भित्र्याउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको जानकारी दिँदै उनले भनिन्, ‘अब कृषिमा यान्त्रीकरण भएन भने हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सक्दैनौँ, त्यसैले हामीले सातै प्रदेशमा किसानलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्न लागेका छौँ ।’ 

लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर २, बगालेगाउँ, गाउँसहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रुपमा सुरु गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवा–युवतीलाई छानेर पढाइरहेको छ । 

बिएस्सीएजीसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र ३ सय ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । सेवानिवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्य लिइएको यो तालिम केन्द्रमा पनि इजरायली प्रविधि भित्र्याइने भएको छ । 

त्यस अवसरमा इजरायलका राजदूत खनान गोडेरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको जानकारी दिइन् । अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उनले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको उनले बताइन् ।
 
कृषिमन्त्री अर्याल, इजरायली राजूदत गोडेर, कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मालगायतले बिहीबारै लमजुङको दुराडाँडास्थित ‘आरभा कृषि फार्म’को पनि निरीक्षण गरेकी थिइन् । इजरायलबाट व्यावसायिक तालिम लिएर फर्किएका प्रशिक्षार्थीले खोेलेको उक्त अत्याधुनिक कृषि फार्म २ सय ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १९:११:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया