आर्लिन गुरुङको अंग्रेजी कविता संग्रह ‘बुलाकी’ प्रकाशित

अर्लिन गुरुङको अंग्रेजी कविता संग्रह ‘बुलाकी’ प्रकाशित भएको छ । बुलाकी नाकमा लगाइने सुनको गहना हो । पुरातनवादी मान्यताअनुसार ‘स्वर्ग जाने टिकट’ मानिने बुलाकीलाई अर्लिन ‘पिँजडा’को विम्ब मान्छिन् । 

महिलालाई बुलाकीजस्तो गहनाको प्रलोभनले युगौँसम्म कैद गर्न खोजेको उनको तर्क छ । संग्रहमा समेटिएका छोटा कवितामार्फत उनले पितृसत्ताविरुद्ध सम्पूर्ण महिलाहरुलाई बुलाकी फ्याँक्न र उत्पीडनको पिँजडा तोड्न आग्रह गरेकी छिन् । 

बुलाकी महिला भएकै कारण सहनुपर्ने हिंसा र उत्पीडनका उल्झन फुकाउँदै सुन्दर भविष्यको कल्पना गरिएको काव्यात्मक अभिव्यक्ति हो । संग्रहमा भएका कविता दुई फरक सन्दर्भमा विभाजन गरेर अध्ययन गर्नुपर्ने खालका छन् । पहिलोमा विभिन्न पृष्ठभूमिका महिलाको उत्पीडनका कथाको प्रतिध्वनित आवाज भेटिन्छ ।

दोस्रो सन्दर्भका कविताले तीनै महिलाले आफ्नो दुःखद वर्तमानसँग लड्ने अठोट र संकल्पलाई बुलन्द पारेका छन् । अर्लिनले छोटा पंक्तिहरुमा सम्पूर्ण महिलाका कथा समेट्दै महिला मुक्तिका लागि ऐक्यबद्धता जनाएकी छन् ।

यसर्थ ‘बुलाकी’ महिलाहरुको प्रतिनिधि आवाज बोल्ने संग्रह हो । विभेदपूर्ण समाजीकीकरणमा महिलाले व्योहोर्नुपरेका हरेक खालका विभेद विरुद्ध समानताका लागि संघर्ष गर्न उत्प्रेरणा दिन्छ ।

बी रिडले प्रकाशन गरेको यस पुस्तकमा उज्ज्वल राना मगरको फोटोग्राफी छ । संग्रहको कभर डिजाइन र ग्राफिक डिजाइन भने किशोर शेरचन र समन श्रेष्ठले गरेका छन् । ९२ पृष्ठको यस पुस्तकको मूल्य २५० तोकिएको छ ।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १९:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया