उर्लाबारीका प्रवीणको 'हत्या' : साथी जेल चलान, होटल मालिक धरौटीमा रिहा

मोरङको उर्लाबारी नगरपालिका-५ निवासी ३१ वर्षीय प्रवीण बाँस्तोलाको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका एकजना जेल चलान भएका छन्।

प्रवीणको हत्या अभियोगमा पक्राउ परेकामध्ये मोरङकै रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी जेल चलान भएका हुन्। उनीसँगै पक्राउ परेका उर्लाबारी नगरपालिका-९ निवासी ३४ वर्षीय कुमार राईलाई जिल्ला अदालत मोरङले ३ लाख धरौटीमा रिहा गरेको छ। 

राई होटल सञ्चालक हुन्। मृत्यु भन्दा अघिल्लो रात बाँस्तोलासँग विवाद भएको अनुसन्धानबाट पुष्टि भएपछि राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो। मोरङ अदालतमा बिहीबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले दर्जीलाई पुर्पक्षका लागि जेल पठाएको हो। 

उर्लाबारी नगरपालिका वडा नम्बर ५ निवासी बाँस्तोलाको गत पुस ५ गते मृत्यु भएको थियो। तर उनको मृत्यु नभइ हत्या भएको दाबीसहित बहिनी सदीक्षा बाँस्तोलासहितले आन्दोलन चर्काएपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको थियो।

प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले बाँस्तोलाका साथीहरु उर्लाबारी नगरपालिका-६  निवासी ३२ वर्षीय राजेश रणपहेंली, रतुवामाई नगरपालिका-१० का २९ वर्षीय रिकेश शिवा उपनामका मेहरमान दर्जी, उर्लाबारी नगरपालिका-६ निवासी १९ वर्षीय सुदीप परियार, उर्लाबारी नगरपालिका-६ का ६० वर्षीय रमेश गिरी, उर्लाबारी-९ का ३४ वर्षीय कुमार राई र झापाको गौरादह नगरपालिका-९ का ३१ वर्षीय दिपेश पौडेलविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो।

जेल पुगेका दर्जी र रिहा भएका राईबाहेक हाल फरार अरु चारजना यसअघि नै पक्राउ परेर छुटेका थिए। उनीहरु करिब एक महिना हिरासतमा बसेर माघ २ गते रिहा भएका थिए। तर उनीहरुलाई पनि प्रहरीले प्रतिवादी बनाएर मुद्दा चलाएको हो। 



मृतकका बहिनी सदीक्षाले घटना गम्भीर भएको बताउँदै यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित सार्वजनिक रुपमा प्रतिवाद गरेकी थिइन्। 



प्रहरीले घटनाबारे गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले बुधबार पत्रकार सम्मेलनमा बताएका थिए।

उनले घटनाको छानबिनमा केही ढिलाइ भए पनि दोषी उम्कन नदिने बताएका थिए। पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमजोरीबारे पनि छानविन भइरहेको पनि उनले जानकारी दिएका थिए।

सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन (मिसिल) बुझाउँदा मृतकको तीनवटा फोटो राखेको थियो जसमा एउटा फोटो भने अर्कै व्यक्तिको परेको थियो।

मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी-६ का ३१ वर्षीय राजेश रणपहेंलीसहितविरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए। 

पक्राउ परेका उनीसहित चारजना माघ २ गते सरकारी वकिल कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटेका छन्। आफन्तले भने तस्बिर फरक परेकोले सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाएको बताउँदै आएका छन्।

प्रवीण मृत्यु प्रकरणमा मिसिलमा फरक तस्बिर परेको र अनुसन्धानमा कमजोरी भएको भन्दै आफन्त तथा स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका थिए। यसैगरी, न्याय माग्दै आफन्त र स्थानीयले विराटनगरस्थित सरकारी वकिलको कार्यालय र मोरङ जिल्ला प्रशासन कार्यालयमा समेत प्रदर्शन गरे।

आन्दोलनपछि मुद्दा 

आन्दोलन चर्किएपछि मात्रै प्रवीण मृत्यु प्रकरण घटनामा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। शङ्कास्पद मृत्युको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईसहित ६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध मुद्दा दायर भएको थियो। जसमा दुई जना पक्राउ परेका थिए। 

  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार २०:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया