अनेरास्ववियूको ओली समूहले सर्वोच्च अदालतले गरिदिएको संसदको पुनःस्थापना प्रतिगमन भाग दुई भएको बताएको छ । २०५२ सालमा पहिलो प्रतिगमन भएको र अहिले त्यसैको दोस्रो भाग भएको अनेरास्ववियूले भनेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियूले भनेको छ, संविधानवादको आधारभूत जगमा भन्दा पनि आग्रह र भावनामा बहकिएर २०५२ भदौ १२ को प्रतिगमनको भाग २ को रुपमा यो फैसला आएको छ भन्ने हाम्रो ठम्याई र निश्कर्ष छ ।
सरकारले तोकेको वैशाख १७ र २७ गतेको निर्वाचनका लागि देश र जनता तयार भइसकेको अवस्थामा अदालतले राजनीतिक निर्णयमा भाँजो हाल्नु प्रतिगमन भएको अनेरास्ववियूको धारणा छ । संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाको विरोध गरेका हुन् ।
अदालतको फैसला जुनसुकै पृष्ठभूमिबाट आएको भएपनि अनेरास्ववियूले स्वीकार गर्ने भन्दै महरले अनेरास्ववियूले विधिको शासन र कानुनको सर्वोच्चताको पैरवी गरिररहने बताए । आफूहरु सबैखाले परिस्थितिको सामाना गर्न तयार रहेको महरले विज्ञप्ति उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।