जंगली जीवनका फरक ‘दृष्टान्त’

‘हुने विरुवाको चिल्लो पात’ भने झैं केही मान्छे सानैदेखि मिहिनेती, जिज्ञासु स्वाभावका हुन्छन् तिनैमध्ये एक हुन्, हेटौंडाका युवा दृष्टान्त विडारी । डेढ वर्ष अगाडि १८/१९ वर्षीय ठिटो क्यामरा बोकेर जंगल जाँदा साथीहरूले मजाक गरेर उडाउँथे । आज उनै दृष्टान्त नेपालका ठूला मिडियामा वाइल्ड लाइफ फोटोग्राफर छन् ।

वातावरण क्षेत्र र प्रकृतिसँग रमाउने हेटौंडा उपमहानगरपालिका ४ भैरव रोड बस्ने २० वर्षीय दृष्टान्त अहिले  नेपालका उत्कृष्ट फोटोग्राफीमा आफूलाई उभ्याउने प्रयासमा छन् ।

तस्बिरको शक्तिलाई बुझेका उनी सानैबाट प्रकृतिप्रेमी र चराचुरुङुगीसम्बन्धी अध्ययन गर्न रुचाउने स्वभावका थिए । उनी अहिले पनि राति १ बजेसम्म गुगल सर्च गरेर चराचुरुङ्गीका बारेमा जानकारी लिन्छन् । यस्तै युट्युबबाट उनी क्यामरा चलाउने कला सिक्छन् । क्यामराको प्रविधि र चराहरूको बासस्थान अध्ययन गरिरहेका दृष्टान्त प्रकृति प्रेमी युवाका रूपमा उदाहरण बन्दै गएका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका क्याम्पा क्षेत्र, फरेस्ट्री क्याम्पस आसपास र नजिकैका जंगलमा चराचुरुङ्गीको अध्ययन गर्दै फोटो खिच्ने दृष्टान्तले एउटा फोटोका लागि दिनभरि पनि कुर्नुपर्ने बताउँछन् । ‘कहिलेकाहीँ दिनभरिमा एउटा फोटो पनि हँुदैन, कुरेर बस्नुपर्छ, कहिलेकाहीँ मेमोरी कार्ड नै फुल समेत हुन्छ । कुर्नै पर्दैन’, उनले भने । 

कहिलेकाहीँ ठूला जोखिमहरूबाट बल्ल–तल्ल बाँचेको उनीसँग अनुभव छ । ‘हेटौंडा १० मा रहेको वनविज्ञान अध्ययन संस्थानमा मृग कुर्दै थिएँ, यत्तिकैमा ५० भन्दा धेरै हरिणहरूको समूह आफैंतिर आए’, उनले भने, ‘मेरै छेउबाट हरिणको हुल गयो, एकमिटर मात्रै दायाँ–बायाँ भएको भए मलाई हरिणको सिङले उन्थ्यो ।’

क्यामरा राम्रो भएर मात्रै फोटो राम्रो नआउने भन्दै राम्रो फोटोका लागि धैर्यता र चलाखीपन हुनुपर्ने बताए । दृष्टान्तले ३ लाख बराबरको क्यामरा, दूरबिन लगायतका सामग्री किनेका छन् । तर, उनले खिचेको फोटोबाट सामान्य खर्च मात्रै उठ्ने गरेको छ । आर्थिक रूपमा नेपालमा वाइल्ड लाइफ फोटोग्राफी गरेर जीवन निर्वाह गर्न मुस्किल रहेको बताउँछन् ।



त्रीचन्द्र कलेजमा वातावरण विज्ञान संकायमा स्नातक तहमा अध्ययनरत उनी फोटो खिचेरै दिगो रूपमा स्थापित हुन भने अहिलेका अवस्थामा नसक्ने बताउँछन् । सरकारले प्रकृतिलाई खासै ध्यान दिन नसकेको भन्दै आवश्यक चासो देखाए नेपालमा सम्भावना धेरै रहेको बताए ।

विडारीले चराचुरुङुगीको मात्रै नभएर जंगली जनावरको पनि तस्बिर खिचेका छन् । उनले चितवन राष्ट्रिय निकुञ्जमा लोपोन्मुख गौरको समेत फोटो खिच्न भ्याए ।



दृष्टान्तले लुम्बिनीको जगदीश तालमा थुप्रै चराचुरुङ्गीको फोटो खिचेका छन् । उनले खिचेका तस्बिरमा चराहरूको गतिविधि, प्रेम, सिकार, मौनता, थकान प्रष्ट देखिन्छ । नेपालमा सरकारले देखाएको तथ्यांकअनुसार ८८० भन्दा बढी प्रजातिका चरा रहेका छन्, उनले २२० वटाको फोटो नै खिचिसकेका छन् ।

हेटौंडाको कुरा गर्दा हेटौंडामा धेरै विदेशी चरा भए तापनि अध्ययन नभएको उनको तर्क छ । उनले धेरैले नाम नै नसुनेका तस्बिरहरू गुगलमार्फत् अध्ययन गरिरहेका छन् । उनले अध्ययन गरेका अनुसार धेरै विदेशी फोटोग्राफरले नेपालका फोटाे खिच्ने भएकाले नेपाली फोटोग्राफर अन्तर्राष्ट्रिय स्तरमा छायामा परेका छन् ।

विडारीलाई परिवारको पनि राम्रो साथ रहेको छ । चर्चित साहित्यकार शान्ति प्रिय बन्दना विडारीकी आमा हुन् । हेटौंडा आसपास खुला ठाउँमा चराचुरुङ्गीको फोटो खिच्न जाँदा विडारीलाई साथी वन्दना नै हुन्छिन् । साहित्यमा मात्रै नभई छोराले देखाएको प्रकृतिको आनन्दले उनलाई छुट्टै किसिमको उत्साह दिने उनी बताउँछिन् ।

लामो समय घर नआउँदा भने चिन्तित हुने शान्तिप्रिय अहिले छोराको मिहिनेत र लगाव देखेर दंग छिन् ।

दृष्टान्तले खिचेको तस्बिरहरू ।

  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १६:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया