प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाबाट देशमा अस्थिरता निम्तिने बताएका छन्। आइतवार राति हिमालय टेलिभिजनसँग अन्तवार्ता दिँदै ओलीले सर्वोच्चको फैसलाबाट कालान्तरसम्म देशमा अस्थिरता निम्तिने बताएका हुन्।
'हेर्दै जानु होला २०५२ मा सर्वोच्च अदालतले गरेको फैसलाबाट निम्तिए जस्तै राजनीतिक अस्थिरता बढ्नेछ। मैले गरेको निर्णयले देश निर्वाचनमा गइसक्थ्यो', उनले भने, 'अदालतको फैसला त मान्नुपर्छ। तर देशलाई यो फैसलाले राजनीतिक संकटतर्फ लाँदैछ। मलाई सर्वोच्चको फैसलाले केही फरक पार्दैन, जन्मदिनमा उपहार होस् अरु जे पनि! मैले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको छैन।'
इतिहासमा प्रमाणित हुने कुरालाई अहिले नै लड्डु खाएर उत्सव मनाउनुको अर्थ नरहेको उनले बताए। 'मैले अरु जस्तो पदका लागि मरिमेटेको होइन। पद जाँदै गर्दा बरु खुसी हुन्छु', उनले भने, 'सर्वोच्च अदालतको फैसलाले अब
प्रधानमन्त्री खोज्न हिँड्नु पर्ने अवस्था आइ लागेको छ।'
सर्वोच्चको फैसलापछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री खोज्दै बूढानीलकण्ठ पुगेको उनले बताए। 'प्रधानमन्त्री खोज्दै बूढानीलकण्ठ पुगेछन्। शेरबहादुर देउवाको जवाफ सुनेर निराश भएर फर्किए', उनले भने, 'फेरि जनता समाजवादीका नेतालाई भेट्दा राजेन्द्र महतोले तपाईंको पार्टी कुन हो भनेर सोधेपछि नाजवाफ भएका छन्।'
ओलीले प्रचण्डलाई पुसमै नेकपा संसदीय दलको घोषणा गरेको आफूले सुनेको बताए। 'प्रचण्डले संसदीय दलको नेता माइतीघर मण्डलबाट छानिएँ भनेको सुनेको थिएँ', उनले भने, 'संसदीय दलको नेता मात्रै किन सिधै प्रधानमन्त्री नै घोषणा गरेको भए हुने नि!'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।