दाहाल-नेपाललाई ओलीको निम्तो : कुस्ती खेलौँ, जसले जित्छ त्यही प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विधि र पद्धति विपरीत गए पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जवरजस्ती हटाउन खोजेको आरोप लगाएका छन्। 

पोखरामा आयोजित ओली समूहको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै ओलीले आफूलाई गलहत्याएर हटाउन खोज्नेले संसदीय पद्धति नै भुलेको आरोप लगाए। 

उनले कसैले गलहत्याएर हटाउन खोज्दैमा पद नछाड्ने बताए। दाहाल-नेपाललाई प्रधानमन्त्री पद चाहिए कुस्ती खेल्न आउन पनि उनले निम्तो दिए। 'साह्रै रहर लागेको भए प्रधानमन्त्रीसँग कुस्ती खेलेर बने राम्रै हुन्छ', दाहाल-नेपालतिर लक्षित गर्दै उनले भने, 'कुस्ती खेलौँ, जसले जित्छ दिनमा दुई पटक तीन पटक प्रधानमन्त्री फेरे पनि हुन्छ।'

उनले आफूलाई हटाउने भए नियममा आउन पनि आग्रह गरे। 'यदि जवरजस्ती गर्ने होइ भने नियम बनाउँदा भयो नि त', उनले भने, 'केही त चाहियो नि!'

नेकपाको आधिकारिकता दाबी गरिरहेका दाहाल-नेपालले अझै बहुमत पुष्टि गर्न नसकेको उनले बताए। 'केन्द्रीय कमिटीको बहुमत कहाँ पुष्टि भयो? कार्की ब्याङ्क्वेटमा भोज खान बोलाएर बहुमत पुष्टि हुन्छ?', उनले भने, 'अध्यक्ष-महासचिवले बोलाएको बैठकमा, दलको नेताले  बोलाएको बैठकमा आउनुपर्यो । प्रधानमन्त्रीको खोजीमा दौडादौड भइरहेको छ।'

उनले दाहाल-नेपालहरू आफूले दिए प्रधानमन्त्री खान्थेँ भनेर बसिरहेको बताए। 'साथीहरु दिए खान्थेँ मायाको दाहिने हातले भनिरहेका छन्', उनले भने, 'साथीहरुले माने भने म पनि हुन्थेँ भनिरहेका छन्।' 





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १४:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया