प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई १५ वर्ष पार्टीको नेतृत्व जिम्मा लगाउँदा दाम चढाउन दरबारतिर कुदेको आरोप लगाएका छन्। पोखरामा आयोजित ओली समूहको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले माधव नेपाल अहिले जस्तो खराब पनि नभएको टिप्पणी गरे।
'माधव नेपाल अहिले जस्तो खराब हुनुहन्नथ्यो। २०२९ सालमा म उहाँकै डेरामा गएर मैले उहाँलाई कम्युनिष्ट बनाएको हुँ। उहाँको ध्यान अर्जुनदृष्टिटमा छ। द्रौपदी प्राप्त गर्न अर्जुनले वाण हाने जस्तै जता हेरे पनि उहाँको ध्यान अध्यक्ष र प्रधानमन्त्रीमा छ', उनले भने, 'त्यही पनि उधारो होइन। उहाँलाई १५ वर्षसम्म अध्यक्ष छाड्यौँ तर कहिले दाम चढाउन जान्छन् त कहिले दरबारमा परिक्रमा गरेर ढोग्न कुद्छन्। तर उनै अहिले आएर अहिले गणतन्त्रका ठूला कुरा गर्छन्।'
ओलीले पुष्पकमल दाहालको पनि दरबार र खराब मानिसहरुसँग बाक्लो साँठगाँठ रहेको बताए। 'प्रचण्डको दरबारसँगको साँठगाँठ भनेर साध्य छैन। खराब तत्वहरुसँग प्रचण्डको भित्री साँठगाँठ हुन्छ', उनले भने, 'त्यसबेला माधव नेपाल पनि यति खराब थिएनन्। महेन्द्र मोरङमा पढ्दै गर्दा बैंकमा जागिर खाँदै गरेको इमान्दार केटो थिए। त्यहीकारण राजनीतिमा आउनु भनेको हुँ। पछि यति खराब हुन्छन् भन्ने थाहा भएको त म बल गर्दैन थिएँ।'
माधव नेपालले आफू पदमा नभएपछि अनेक तिगडम गर्ने गरेको उनले बताए। 'हवल्दारको एउटा भूमिका ट्राफिकको भूमिका छ नि नियम कडा छ, कानुन कडा छ भन्ने', उनले भने, 'माधव नेपालको पालामा त्यस्तै थियो, नियम कडा तर कामै नलाग्ने।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।