४१ अङ्कले बढ्दै एक सातापछि नेप्सेमा पुनः हरियाली

साताको दोस्रो दिन नेप्से परिसूचक ४० अङ्कले बढेको छ । यस दिन नेप्से १.६४ प्रतिशतले बढेर परिसूचक ४०.६४ अङ्कमा कायम भएको हो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी देखिएको छ ।

साताको पहिलो दिन आइतबार ७९.७४ अङ्कले घटेर २४७४.३९ बिन्दुमा बन्द भएको नेप्से सोमबार ४०.६४ अङ्कले बढेर २५१५.०३ बिन्दुमा बन्द भएको हो । सोमबार सेन्सेटिभ इन्डेक्स ६.४७ अङ्क, फ्लोट इन्डेक्स २.८४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१५ अङ्कले बढेको छ ।

साताको पहिलो दिन समग्र नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको थियो । यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो । तर, सोमबार भने २०९ कम्पनीको ७० हजार ३३९ पटकको कारोबारमा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।  

फागुन १० गतेदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचकमा आज भने सुधार आएको छ । फागुन ११ मा सर्वोच्च अदालतले संसद पुनःस्थापनाको आदेश दिएको अघिल्लो दिनदेखि नै संकटकालको हल्लाले राजनीति तरलता गहिरिने अनुमानको असर सेयर बजारमा देखिएको थियो । सोही अफवाहले फागुन १० गते बजार सूचक झन्डै ३३ अंकले ओरालो लागेको थियो । यससँगै नेप्से एक साता निरन्तर आरोलो लागेको थियो ।

त्यसअघि करिब एक साता बजार लगातार उकालो लागेका कारण सूचकले तीन हजारको आँकडा छुने अनुमान सेयर बजारका विश्लेषकहरूले गरेका थिए । बजार घट्न थाल्नु पूर्व एक साता अघिबाट नेप्से परिसूचक २६४० विन्दुसम्म उक्लिएको थियो । पछिल्लो समय २६४० बिन्दुमा पुगेको नेप्से अघिल्लो साताको सोमबारबाट ओरालो लाग्न थालेपछि यो २४७४ को बिन्दुसम्म आइपुगेको थियो । 

आजको नेप्से वृद्धिलाई बजारमा विभिन्न प्रकारले विश्लेषण गरिएको छ । एकातिर केही लगानी कर्ताहरू यसलाई ‘बाउन्स ब्याक’ को संकेतका रूपमा विश्लेषण गरिरहेका छन् भने अर्कोतिर यसलाई ‘डेड क्याट बाउन्स’ हो कि भन्ने आशंका पनि गरिरहेका छन् । 



अघिल्ला दुई कारोबार दिनमा भएको उच्च गिरावट पनि यस दिन बजार बढेकाले यसलाई केही लगानीकर्ताले करेक्सनपछिको ‘बाउन्स ब्याक’ का रूपमा लिएका छन् । त्यसैगरी, अर्का थरी लगानी कर्ताहरू ‘उचाइबाट खसेपछि मरेको बिरालो पनि केही उफ्रिन्छ’ भन्ने आधारमा यसलाई ‘डेड क्याट बाउन्स’ को संज्ञा पनि दिइरहेका छन् । यद्यपि यो ‘बाउन्स ब्याक’ को संकेत हो कि ‘डेड क्याट बाउन्स’ हो, त्यसको निर्णय गर्न भोलिको बजार हेर्नुपर्ने विश्लेषकहरू बताउँछन् । भोल्युमले साथ नदिएका कारण यो वृद्धि के को संकेत हो भनेर भोलि मात्रै थाहा हुने उनीहरूको भनाइ छ ।

सबै कम्पनीको परिसूचकमा वृद्धि



यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचकहरू बढेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन होटल तथा पर्यटन, वित्त र जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरै बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत्, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) शीर्ष स्थानमा रहेको छ । यस दिन निफ्राको ४४ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन शिखर इन्स्योरेन्सको ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १६:३२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया