शान्ति स्थापनामा सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस युनिट सर्वोत्कृष्ट
कार्यसम्पादन परीक्षण तथा मूल्यांकन समितिमा नेपाल एफपियू–१ का अधिकृतहरुद्वारा विभिन्न विषयमा प्रस्तुतीकरण गर्दै ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटमध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपियू–१) सर्वोकृष्ट ठहरिएको छ । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ एफपियूमध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपियू–१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो । 

उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मूल्यांकन प्रतिवेदनमा नेपाल एफपियूले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोकृष्ट हुन सफल भएको कुरा उक्त युनिटका कमान्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले बताए । 

कुनै पनि मिसनमा तैनाथ एफपियूबीच विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्टता छनोट गर्ने कडीको रुपमा लिइने यस मूल्यांकनलाई एफपियूहरुले प्राप्त गर्ने प्राप्तांकका आधारमा उत्कृष्ट छनोट गरिने गरिएको छ । आन्तरिक प्रतिस्पर्धामा समावेश गरिएका आठ विधा क्रमशः– मिसन कार्यादेशको ज्ञान र समर्थन, कमान्ड एन्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेसनल रेडिनेस र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन् । 

प्रत्येक विधामा अधिकतम चार–चार अंकका दरले ३२ पूर्णाङ्क छुट्याइएको थियो । १८ फेब्रुअरी सन् २०२१ मा लिइएको उक्त परीक्षण तथा मूल्यांकनमा नेपाल एफपियू–१ ले ३२ अंक नै ल्याउन सफल भएको हो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटी कमान्डिङ अफिसर सशस्त्र प्रहरी नायव उपरीक्षक शिवप्रसाद गैह्रे, चिफ लजिस्टिक अफिसर सशस्त्र प्रहरी नायव उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेसन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायव उपरीक्षक अरुणकुमार शर्मा रहेका छन् । 

उक्त एफपियूमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवान कार्यरत छन् । शान्ति प्रक्रिया सातौँ डप्फाको रुपमा सन् २०२० को फेब्रुअरी ९ तारिखमा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल, नेपालको उक्त टोलीले कोराना कहरको समयमा समेत बिचलित नभई आफूलाई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रुपमा निर्वाह गरेको तथा कमान्ड स्टाफ र सकल दर्जाका कर्मचारीको अथक मिहिनेतका कारण पनि अन्य एफपियूहरुलाई पछि पार्न सफल भएको कुरा कमान्डिङ अफिसर न्यौपाने बताउँछन् ।



हाल दक्षिण सुडानमा रहेका एफपियूहरुमा नेपालको तर्फबाट दुईवटा, रुवान्डाको तीनवटा र घानाको एक गरी जम्मा ६ वटा एफपियू कार्यरत छन् । शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन २०२३ डिसेम्बरमा आमनिर्वाचन हुन गइरहेको छ । यसै क्रममा एफपियूहरुको संख्यामा कटौती गरी इन्डिभिजुअल प्रहरीहरुको संख्या वृद्धि गर्ने योजनाको साथ अघि बढिरहेको परिप्रेक्ष्यमा यस रिपोर्टलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 


जुवा, साउथ सुडानस्थित आइडिपी क्याम्पमा सुरक्षार्थ तैनाथ नेपाल फर्म्ड पुलिस युनिट–१ का सशस्त्र प्रहरी कर्मचारी



  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १६:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया