के भन्यो भन्ठान्नुहोला, चुनाव मंसिरभन्दा पर जाँदैन : शिक्षामन्त्री श्रेष्ठ
पुरानो शिक्षा ऐनलाई परिवर्तन गर्नुपर्नेमा जाेड

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश नै भएको जिकिर गरेका छन् । सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पिसिपिएस कलेज)को तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले संसदबाट समस्याको समाधान ननिस्किने दाबी गरे । 

आगामी मंसिरसम्ममा चुनाव हुने र चुनावको नेतृत्व पनि यही सरकारले गर्ने उनले दाबी गरे । उनले भने, ‘यही सरकारले केही ठेगान छैन आगामी वैैशाखमा भनेकोमा जेठमा हुन सक्छ चुनाव, जेठ कट्यो भने मंसिरभन्दा पर जाँदैन र यो चुनावको अगुवाइ पनि यही सरकारले गर्छ ढुक्क हुनुस् । के भन्या होला भन्ठान्नुहुन्छ ? पछि छलफल गरौँला ।’

कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता औँल्याएका छन् । शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

नेपालमा राजनीतिक परिवर्तन भए पनि पुरानै शिक्षा ऐनअनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । अहिले पनि शिक्षा ऐन ०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उनको तर्क थियो ।

‘पञ्चायत निरंकुश निर्दलीय तानाशाही राजतन्त्रको एकछत्र रजाइँसहितको सिस्टम गइसक्यो । बहुदल भन्ने चिज आयो । बहुदल पनि गइसक्यो । लोकतन्त्र र गणतन्त्र पनि आयो,’ उनले भने, ‘नियमचाहिँ त्यही छ । यसमा चेन्ज हुनुपर्छ । यस्ता खालका पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तन खोजेर पाइन्छ ? यो विज्ञानसम्मत पनि भएन । यसकारण यसमा चेन्जको आवश्यकता छ ।’

मन्त्री श्रेष्ठले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरीय अधिकारसम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘शिक्षामा आमूल परिवर्तनका लागि हामीले उच्चस्तरको अधिकारसम्पन्न शिक्षा नीतिको सन्दर्भमा एउटा व्यवस्थित कार्यदल बनाएर अघि बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।’



उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे । सरकार हिजोभन्दा अहिले झनै शक्तिशाली भएको उनले दाबी गरे । 

दीक्षान्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिबिए विषयसँग सम्बन्धित ६४ विद्याथीलाई मन्त्री श्रेष्ठको हातबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्रदान गरिएको थियो । 



  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १७:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया