‘केपी ओलीको ठूलै सेटिङ रैछ, प्रचण्ड-माधव पक्षमा लागे त वर्वाद भइन्छ भन्ने भ्रम थियो'
फाइल फोटो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले भन्ने गरेको एउटा सेटिङको भ्रम सर्वाेच्च अदालतले तोडिसकेको र अब छिट्टै सेटिङको अर्काे भ्रम पनि तोडिने दावी गरेका छन् । 

संसद विघटनपछि केपी ओलीले सेटिङ भइसकेको हल्ला फिँजाएका कारण पार्टीका केही नेताहरु उनको पक्षमा लागेका बताए। 

सोमबार काठमाडौंमा आयोजित पेशागत महासंघ  र नेपाल राष्ट्रिय  कर्मचारी महासंघ बीचको घोषण सभामा बोल्दै उनले ओली कित्ता छाडेर धेरै नेताहरु आफ्नो पक्षमा आउने तयारीमा रहेको दावी गरेका हुन् । 

‘उहाँले त भन्नु भएको थियो हामीले सेटिङ गरेका छौँ भइहाल्छ । सर्वाेच्चले त हाम्रै अनुसार गर्छ’ प्रचण्ड सुनाउँछन्, ‘देशभरि अभियान चलाएर यो भ्रम छर्नुभयो, अनि साथीहरुलाई लाग्यो ओहो ! केपी ओलीले त ठूलै सेटिङ गर्या रैछ, प्रचण्ड-माधव पक्षमा लागे त वर्वाद भइन्छ । हैन उतै लागौँ भनेर भ्रममा पर्नुभएका धेरै साथी विस्तारै यता फर्किँदै हुनुहुन्छ।’

अब उनीहरुले भन्ने गरेको अर्काे सेटिङ पनि छिट्टै भत्किन लागेको भन्दै भ्रम बस ओलीको पछि लागेकालाई आफ्नो पक्षमा आउन प्रचण्डले आग्रह गरे । 

निर्वाचन आयोगले ओलीले पक्षलाई दलको आधिकारिकता दिन्छ भन्ने सेटिङको हल्ला छिट्टै भत्किने सूचना आफूले पाएको दावी गरेका छन् । 



‘हेर्नुहोला मैले त्यत्तिकै भनेको होइन बुझेर भनेको, केही समयभित्रै निर्वाचन आयोगले उहाँको पार्टी आधिकारिक पार्टी होइन्, आधिकारिक पार्टी बहुमतवाला नै हो, सूर्य चिन्ह र नाम उहाँहरूकै हुन्छ भनेर फैसला गर्दैछ’ प्रचण्डले दावी गरे, ‘त्यसमा एक इन्च पनि शंका गर्नुपर्दैन । ’

आफूले त्यो कुरा पूरा विश्वासका साथ भनेको र नाम र सूर्य चिन्ह ओलीको पक्षमा होला भन्ने भ्रममा परेकालाई आफ्नो पक्षमा लाग्न प्रचण्डले आह्वान गरे। 



  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १७:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया