बल्ल पूरा भयो पक्की घरको सपना !

शरीर छोप्ने एकसरो कपडा र बिहान बेलुकाको छाक टार्नै मुस्किल हुने जनकपुरधामका विपन्न दलित परिवारलाई पक्की घर सपना जस्तै थियो । दिनभर कमाएको केही सय रुपैयाँ पनि छाक टार्दैमा सकिन्थ्यो ।

वर्षौदेखि छाप्रोमा बस्दै आएका जनकपुरधाम उपमहानरपालिकाका विपन्न दलितले भने अहिले पक्की घर पाएका छन् । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका दुईकोठे पक्की घर पाएपछि जनकपुर लादोबेला, विन्धि र बसहियाका दलित परिवारको वर्षौंदेखिको सपना पूरा भएको छ । 

सोमबार जनता आवास कार्यक्रम अन्तर्गत घरविहीन परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ । निर्माण भएका एकसय २४ दुई कोठे पक्की घर प्रदेश २ सरकारले हस्तान्तरण गरेको हो ।
  
सोमबार भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र जनता आवास कार्यक्रमका संयोजकसमेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहले नवनिर्मित दुई कोठे पक्की घर हस्तान्तरण गरेका हुन् ।

लादोबेलाका ४३, विन्धिका ३६ तथा बसहियाका ४५ गरि १२४ परिवारलाई दुई कोठाको पक्की घर हस्तान्तरण गरिएको छ । 

संघीय सरकारको सरकारको कार्ययोजनामा परिमार्जन गरेर प्रदेश २ सरकारले छानामा भएको बाँसको ठाउँमा फलामको पाइप, एक नम्बर इँटा तथा भुईँमा माटोको सट्टा इँटाको सोलिङ गरेको भौतिक पूर्वाधार विकासमन्त्री सोनलले जानकारी दिए ।

हालसम्म प्रदेश २ का डोम, हलखोर, मुसहर तथा मेस्तर समुदायका चार हजार परिवारलाई पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको उनले बताए । कार्यक्रमलाई तीव्रता दिन समयमा बजेट निकासाका लागि पनि मन्त्री सोनलले केन्द्र सरकारसँग माग गरे ।



वर्षौंदेखिको पक्की घरमा बस्ने सपना पूरा भएपछि घर प्राप्त गरेका परिवारले सरकारलाई आभार प्रकट गरेका छन् । ‘हामीलाई बिहान बेलुका के खाने र लाउने भन्ने नै चिन्ता थियो, पक्की घरमा बस्नु त सपना नै थियो,’ लादोबेलाका स्थानीय छट्टु सदाले भने, ‘सरकारले हाम्रो अवस्था बुझेर सानै भए पनि पक्की घर दिएको छ ।’ 

यस्तै, अब वर्षातको पानी र हिउँदको चिसोबाट राहत मिल्ने घर प्राप्त गरेकी संगीतादेवि सदाले बताइन् । ‘पक्की घर पाएपछि अब चिन्ताले रात बिताउनुपर्ने अवस्थाबाट मुक्त भएका छौं । पहिलोपटक आफ्नै पक्की घरमा बस्ने सपना पूरा भयो । सरकारलाई धन्यवाद दिन चाहान्छौं,’ उनले भनिन् । 



छाप्रोमा बस्दा हावाहुरी तथा वर्षातमा बाढीको त्रासले कैयौं रात सुत्नै नसकेको उनले बताइन् । यसअघि केन्द्र सरकारले नै विपन्न, दलित, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम तथा अति सीमान्तकृत जाति र समुदायका लागि निःशुल्क रूपमा आवास निर्माण गर्न जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

आर्थिक वर्ष २०७५÷७६ र ०७६÷७७ गरेर दुई आर्थिक वर्षमा धनुषा जिल्लामा ७ सय २४ जनासँग सम्झौता भएकोमा अहिलेसम्म जिल्लामा २ सय ८१ वटा घरको निर्माण भएको र ४ सयको निर्माण जारी रहेको जनता आवास कार्यक्रम धनुषाका संयोजक परमेश्वर साहले जानकारी दिए । 

उनले सबै घरको निर्माण असार मसान्त भित्रमा सम्पन्न हुने बताए । जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियामा निर्माणको क्रममा रहेका ३४ वटा घरमाथि अदालतमा मुद्दा परेकाले निर्माण कार्य रोकिएको उनले जानकारी दिए । 

०६६÷६७ देखि केन्द्र सरकारले कार्यान्वयनमा ल्याएको जनता आवास कार्यक्रम २०७२÷७३ देखि प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरमा दुईवटा कोठा, बरण्डा र भान्छा कोठा छन् ।

  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १९:२५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया