जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रघात गर्नेलाई नाङ्गेझार पारेर टुँडिखेलमा झुन्ड्याउनु पर्ने बताएका छन् ।
धनगढीमा भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘कुर्सी स्वार्थमा पटक–पटक यहाँ राष्ट्रघात भएका छन् । खोक्रो राष्ट्रवाद भएका नेताहरूकै कारण देश पछाडि धकेलिएको हो’, उनले भने, ‘त्यसैले मैले भन्दै आएको छु, राष्ट्रघातीलाई नाङ्गेझार पारेर टुँडिखेलमा झुन्ड्याउनु पर्छ ।’
ठूला राजनीतिक दलमा अझै पनि नश्लीय सोच र चिन्तन हाबी भएको हुँदा अहिलेको परिणाम भएको उनले बताए । ७० वर्षसम्म नेपालमा काँग्रेस र कम्युनिस्टले शासन गरे तर, जनताका नाममा खाक्रो भाषण गर्दै हिँडेको उनले पत्रकार सम्मेलनमा आरोप लगाए ।
नेपाली जनताले वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिरहेका पनि उनले बताए । ‘यहाँ अरूलाई गाली गरेमा राष्ट्रवादी भइँदोरहेछ । शासन सत्तामा बस्नेहरू आफ्नो कुर्सीको सुरक्षाका लागि देश बेच्नपछि नपर्ने अनि त्यही व्यक्ति नै आफूलाई राष्ट्रवादी भन्दै भाषण गर्ने ? कस्तो विचित्र’, उनले भने । ६ वटा संविधान सिध्याइसकेको बताउँदै ठूला भनिएका दलहरू ७ औँ संविधानलाई पनि समाप्त गर्ने खेलतिर लागेको उनले बताए ।
जनताले आफ्नो पहिचान खोज्दा जेल जानुपर्छ भने के को जनताको शासन भन्दै उनले प्रश्न गरे । ‘जनताले आफ्नो पहिचान खोज्दा आजीवन कारागार चलान हुन्छ भने यो के हो ?’, नेता महतोले अगाडि भने, ‘आन्दोलन गर्नेहरू अपराधी हो भने यसभन्दा पहिलेका कसैले आन्दोलन गरेका छैनन् । प्रचण्ड, केपीले आन्दोलन गरेनन् । अनि थारूको छोराले जेलमा बस्नुपर्ने । यो के न्याय हो ?’
कानुन आदिवासी र जनजातिलाई मात्रै लाग्दै आएको उनले बताए । ‘विविधताले भरिएको देश भए पनि अझै पनि पहिचान र अधिकार पाउन सकिएको छैन’, महतोले भने ।
नेता महतोले पृथ्वी नारायणले एकीकरण गरेपछि बनेको नेपालमा कुनै पनि शासक जनताको पक्षमा उभिन नसकेको दाबी गरे । ठूला पार्टीकै कारण देश विश्वका गरिब देशहरूको सूचीबाट माथि उठ्न नसकेको पनि उनले बताए । शासन चलाउने पार्टीले गर्दा मुलुकको राष्ट्रवाद हराएको उनले बताए । ‘देश बेचुवा सबैभन्दा ठूलो राष्ट्रवादी यहाँ भएका छन्’, उनले भने ।
महाकाली सन्धिमा राष्ट्रघात गर्ने शेरबहादुर देउवा र त्यसलाई पारित गर्ने केपी शर्मा ओली भएको उनले आरोप लगाए । देशलाई गोल चक्करबाट मुक्ति दिनुपर्ने नेता महतोले बताए । ‘गोल चक्करबाट मुक्ति नदिँदासम्म समृद्धि हाँसिल गर्न सकिँदैन’, उनले भने ।
सहकार्य गरेर सरकारमा जाने कि भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता महतोले भने, ‘दुई तिहाईको नेकपाको सरकार हुँदासम्म कसैसँग सहकार्य हुँदैन । कुनै समूहसँग सहकार्य हुँदैन ।’ जनता समाजवादी जनताको मुद्दामा आधारित पार्टी भएको बताउँदै आफ्नो एजेन्डा पूरा नहुँदासम्म अगाडि नबढ्ने बताए ।
स्वदेशमा रोजगारी नहुँदा खाडी मुलुकको ५० डिग्रीभन्दा बढी तापमा लाखौं नेपालीले काम गर्नुपर्ने बाध्यता सुनाउँदै उनले दैनिक बाकसमा विदेशमा कमाउन गएकाको लास आउने गरेको बताए । समृद्धिको नारा दिएर गठन भएको सरकारले घरघरमा ग्यास पुर्याउने, पानीजहाज चलाउने, रेल कुदाउने झुठा सपना बाँडेको नेता महतोले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।