अब मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्था छैन : कृषिमन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन् । 

‘हामीलाई शंका थियो । हामीले यसमा सफलता प्राप्त गर्यौँ । मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छाैँ’, मन्त्री अर्यालले भनिन् । 

तत्कालीन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अगाडि बढेको उनले बताइन् । 

मलको समस्या हुन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने मन्त्री अर्यालको भनाइ छ । अनुमानको आधारमा मलको आपूर्ति नभएर तथ्य र आवश्यकताका आधारमा गर्नेगरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उनले बताइन् । 

यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने तयारी रहेको मन्त्री अर्यालले बताइन् । 

जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल बिक्री भएको थियो । 



यस आवको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ । पछिल्ला ३ वर्षहरुको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ । जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ । 

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा करिब ३ लाख मेट्रिक टन मल आपूर्तिको लागि यही महिनाबाट आयात प्रक्रिया सुरु गरिने मन्त्री अर्यालले बताइन् । 



  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार १२:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया