प्रधानमन्त्री र मन्त्रीहरु के खाएर बोल्छन् यस्ता कुरा ?
के बोल्ने के नबोल्ने ख्याल नै गर्दैनन्

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको क्याबिनेटका सदस्यहरु केही समयता जथाभावी बोलेर आलोचित भइरहेका छन्। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं आलोचनाको केन्द्रमा छन्। 

चौतर्फी घेराबन्दीमा परिरहेका ओली र उनको क्याबिनेटका सदस्यको विवादित भाषणले झन् आगोमा घिउ थप्ने काम गरिरहेको छ। देश विकासलाई तीव्र गतिमा अघि बढाइरहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले अध्ययन नै नगरी बोल्दा हाँसोको पात्र बनिरहेका छन्। 

भ्याक्सिन पराजित !

प्रधानमन्त्रीले देशले विकासको फड्को मारिरहेको बताउँदा पटक-पटक सरकारी तथ्य बंग्याउने काम गरिरहँदा आलोचना भइरहेको छ। प्रधानमन्त्रीले बिहीबार मात्रै सिन्धुलीमा सुनकोशी-मरिन डाइभर्सन परियोजना शिलान्यास गर्ने क्रममा कोरोनालाई नभइ भ्याक्सिनलाई पराजित गरेको भन्दै भाषण गर्न भ्याए। 

भाषणका क्रममा उनले सुरुमा भ्याक्सिनलाई पराजित गरेकोले अब अघि बढेको बताए। तर आफ्नो गल्तीलाई उनले सच्याएनन्। उनले सबै जनतालाई नि:शुल्क भ्याक्सिन ल्याइएको बताए। सम्बोधनका क्रममा ओलीले फेरि अब भ्याक्सिन पनि नियन्त्रणमा आएको भन्दै भाषण गरे। उनले अर्को पटक पनि भ्याक्सिन नियन्त्रणको चरणमा गएको बताए। 

सम्बोधनका क्रममा ओलीले भने, 'अझै केही समय हामीले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, हात मुख धुने सरसफाइमा ध्यान दिने, खाना ताजा खाने आदि कुरामा....अझै भ्याक्सिन आए पनि भ्याक्सिन सतप्रतिशत भरपर्दो हुँदैन। अझै पनि हामीले सजगता अपनाउनुपर्छ जबसम्म भ्याक्सिनलाई पराजित गरिँदैन। अब भ्याक्सिन नियन्त्रणमा आउँदैछ.....कोरोना नियन्त्रणमा आउँदैछ। 



दीक्षान्त समारोहमा शिक्षामन्त्रीको 'माइकालाल'

यही सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै थिए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ। दीक्षान्त समारोहमा लगाइने  पोशाक (गाउन,स्कार्प, टोपी) सहित उनी मञ्चमा निस्किए। उनी अगाडि थिए दीक्षित भएका कयौँ विद्यार्थी र विद्वान शिक्षकहरु। 



शिक्षा मन्त्रीले त्यहाँ दीक्षित भएकाहरुको रोजगारीको कुरा गरेनन्, शिक्षा प्रणाली परिवर्तनको कुरा गरेनन् । कुरा गरे त प्रधानमन्त्री ओलीलाई हटाउने राजनीतिबारे। कुनै राजनीतिक दलको आमसभामा जसरी प्रस्तुत भएका उनी आक्रोशित मुद्रामा थिए। उनको हाउभाउ बक्सिङ रिङमा भिड्न उत्रिएको आक्रमक बक्सरको भन्दा कम थिएन। 

भिडियो

उनले त्यहाँका दीक्षित भएका विद्यार्थी र शिक्षकहरुलाई भन्दै थिए, '..........प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु हुन्न। सरकार हिजोभन्दा अहिले झनै शक्तिशाली भएको छ। म पनि पावरफुल शिक्षा मन्त्री छु...........'

दीक्षान्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिबिए विषयसँग सम्बन्धित ६४ जना विद्यार्थी गाउनसहित उपस्थित थिए। उनीहरुले मन्त्री श्रेष्ठको हातबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र लिए। तर शिक्षा मन्त्रीको भाषणका शब्द चाहिँ टोले गुण्डाले प्रयोग गर्ने किसिमका थिए। 

'कोही माइकालाल जन्मेको छ? केपी ओलीको कठालो समातेर सडकमा ल्याउने? केपी ओली इज केपी ओली, फुटबलको पेले जस्तै हो', उनी भन्दै गए, 'राजीनामा दे भन्दैमा राजीनामा दिन्छ? यो अदालतको फैसलाले आएको सरकार होइन। सरकार हिजो भन्दा पावरफुल भएको छ। कसैलाई रहर लाग्दैमा राजीनामा दिन्छ भनेर होला! जनताको काखमा जनताको शक्तिको जगमा उभिएको सरकार हो यो कसैले हटाएर त देखाउनु!'

वन मन्त्रीको कार्बनडाइअक्साइड ज्ञान

मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री प्रेम आले। माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डनिकट मन्त्रीहरुले राजीनामा दिएपछि आले गत पुसमा वन मन्त्री बनेका थिए।

वनमन्त्री बनेदेखि उनी निरन्तर नेकपा दाहाल-नेपाल समूहमाथि आक्रमक भाषणमा व्यस्त थिए। तर मंगलबार उनी फेकोफोनको कार्यक्रममा अलग रुपमा प्रस्तुत भए। उनले त्यहाँ सम्बोधन गर्ने क्रममा आफूलाई एक अर्ब घुसको प्रस्ताव आएको कुरा मात्रै गरेर मानिसको श्वास प्रश्वासबारे पनि बोल्न भ्याए। 

उनले त्यहाँ सम्बोधनका क्रममा बाँडेको दिव्य ज्ञान के थियो भने मानिसलाई रुखले कार्बनडाइअक्साइड दिन्छ भने मानिसले अक्सिजन फ्याल्छ। 'जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौ। जुन रुखलाई हामी अक्सिजन दिन्छौँ, त्यही रुख रहेन भने हाम्रो हालत के हुन्छ?', उनले सम्बोधनका क्रममा भने। 

तर मन्त्री आलेले उक्त कुरालाई सच्याउनेतर्फ ध्यान दिएनन्। बरु अझै भाषण दिँदै गए। उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको पनि व्याख्या गरे। 'यो जनताको सरकार हो। यो जनताप्रति उत्तरदायी सरकार हो भन्ने तपाईंहरुलाई लाग्छ भने त्यो ठूलो भूल हो', उनी गलत बोल्दै गएपछि अन्तिममा भने, 'यो जनताप्रति समर्पित सरकार हो, यसमा शंका नगर्नू!'

प्रधानमन्त्रीको हिमाल ज्ञान 

प्रधानमन्त्री केपी शर्मा ओली अहिले उद्घाटन र शिलान्यासमा दौडिरहेका छन्। उनी यही सोमबार गण्डकी प्रदेशको राजधानी पोखरा पुगे। त्यहाँ गएर उनले गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्यको व्याख्या गरे। 

गण्डकी प्रदेश प्रशिक्षण भवनको उद्घाटनका क्रममा प्रधानमन्त्रीले त्यहाँका हिमालबारे व्याख्या गरे। 'गण्डकी प्रदेश चीनसँग सीमा जोडिएको र भारतसँग पनि सीमा जोडिएको । यो अत्यन्तै प्रसिद्ध हिमालहरू गोरखा हिमालदेखि, मनास्लु हिमालदेखि, जुगल हिमालदेखि, अन्‍नपूर्ण हिमालदेखि, अन्‍नपूर्ण रेन्जकै हिमाल, माछापुच्छ्रे हिमाल, निलगिरि हिमाल, धौलागिरि। यहाँ पाँचवटा त आठ हजार मिटरमाथिका शिखर छन्। धौलागिरि भयो, अन्नपूर्णका ती वटा पिक र मनास्लु भयो।'

प्रधानमन्त्रीले हिमालबारे ज्ञान बाँडिरहँदा जुगल हिमाल गण्डकी प्रदेशमा पर्दैन भन्ने कुराको हेक्का नै राखेनन्। उनले अर्को गल्ती गण्डकीमा ८ हजार मिटर अग्ला पाँच हिमालबारे बोलेर गरे। 

प्रधानमन्त्री ओलीलाई थाहा नभएको कुरा काठमाडौंबाट हेर्न सकिने जुगल हिमाल सिन्धुपाल्चोकमा छ। तर उनले बागमती प्रदेशको जुगल हिमाललाई गण्डकी प्रदेशमा रहेको बताए। उनले जुगल हिमालको व्याख्या गरिरहँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य आगन्तुकहरुलाई केही अफ्ठेरो महसुस भएको देखियो। 

ओली चिप्लिएको अर्को विषय भनेको गण्डकीमा ८ हजारमाथिका तीन मात्रै हिमाल छन्। गण्डकीमा ८१६७ मिटर अग्लो धौलागिरि प्रथम, ८१५६ मिटर अग्लो मनास्लु, ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल छन्।

श्री ५ को सरकार

यसअघि माघ ७ गते सुर्खेत पुगेका खानेपानी मन्त्री मणि थापाले ओली समूहको कार्यक्रममा श्री ५ को सरकारलाई सम्झिए। सुर्खेतमा खानेपानी मन्त्री थापाले बोल्दा बोल्दै श्री ५ लाई सम्झिएका थिए।

ओली पक्षको  कार्यक्रमलाई सम्बोधनको सुरुमै उनको जिब्रो  चिप्लिएर श्री ५ को सरकारलाई सम्झिएका थिए। अर्थात् उनले २०६२/६३ को जनआन्दोलन अघि कायम श्री ५ को सरकारलाई स्मरण गरे त्यो पनि झुक्किएर!

  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार १८:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया