सरकारको दुई वर्ष लामो प्रतिबन्ध फुकुवापछि भूमिगत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव शुक्रबार सार्वजनिक हुँदैछन्। २०७५ फागुन १० गते राति ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा शक्तिशाली बम विस्फोट गराएपछि केपी शर्मा ओली नेतृत्वको सरकार विप्लवसँग क्रुद्ध भएको थियो।
त्यसअघि नै भूमिगत गतिविधि गर्दै एनसेलका टावरहरूमा बम पड्काइरहेको विप्लवको आक्रमणका क्रममा ललितपुरमा लमजुङको मेलुङका ४९ वर्षी सिंहबहादुर गुरुङको ज्यान गएको थियो। पूर्व सिंगापुर पुलिस उनको ज्यान जानेगरी भएको बम विस्फोटमा अन्य दुई घाइते भएका थिए।
उक्त घटनापछि पनि विप्लव नेकपाले चन्दा आतंक र एनसेल टावरमाथिको आक्रमणलाई निरन्तरता दियो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र प्रचण्डमाथि आक्रमण गर्न विप्लवले मान्छे खटाएको भन्दै २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद्बाट प्रतिबन्ध लगाइदिए।
राजनीतिक मुद्दासहित अर्धभूमिगत रहेको विप्लव नेतृत्वको नेकपा त्यसपछि बाध्यतावश पूरै भूमिगत हुन पुग्यो। भूमिगत भइसकेपछि विप्लव नेकपाले १० वर्षे जनयुद्धकै शैलीमा आफ्ना गतिविधि अघि बढायो। विप्लवले हिजो माओवादीले प्रयोग गरेकै रुट र सेल्टरहरू उपयोग गरेपछि उनका कार्यकर्ता पक्रिन प्रहरीलाई सजिलो भयो।
प्रतिबन्ध लगाएपछि ओलीले विप्लवमाथि प्रहरीका दुवै संगठन खटाएर निरन्तर धरपकड अघि बढाए। धरपकड चलाए पनि विप्लवले आफ्ना गतिविधिलाई रोकेनन्। तर उनले आफ्ना नेता कार्यकर्तालाई पक्राउनबाट जोगाउन सकेनन्। यसबीचमा हेमन्तप्रकाश वली, माइला लामा, वीरजंग चन्द, ओम पुन, धर्मेन्द्र बाँस्तोलासहित २०९८ जना नेता कार्यकर्तालाई प्रहरीले देशभरबाट पक्रियो।
मानवीय क्षति
यहीबीचमा विप्लवले माओवादीकै शैलीमा काठमाडौंसहित देशका विभिन्न भागमा हतियार विस्फोटक पदार्थ प्रयोग गर्दा कयौँ नेता कार्यकर्ता गुमाउन पुग्यो। प्रतिबन्धको दुई वर्षको अवधिमा विप्लवका १६ कार्यकर्ता प्रहरी कारवाही र बम विस्फोटसहितका घटनामा मारिए।
नेपाल प्रहरीको विवरण अनुसार यो दुई वर्षमा प्रहरी कारवाही, विष्फोट र पहिरोबाट १६ जना विप्लव कार्यकर्ताले ज्यान गुमाए। बम विस्फोटबाट ७ कार्यकर्ताको मृत्य भयो। अर्कातिर प्रहरी कारबाहीमा ४ जना मारिए। प्रहरी कारबाहीबाट प्रतिबन्ध अगाडि नै (२०७४ वैशाख ३१ गते कालिकोटमा) एकजनाले ज्यान गुमाए।
त्यस्तै २०७६ जेठ ७ मा भोजपुरको ट्याम्के मैयुङमा एकजना, २०७६ असारमा सर्लाहीमा, २०७६ असार भोजपुरमा एक जनानासहित विप्लव चार कार्यकर्ता प्रहरी कारबाहीबाट मारिएका थिए। सर्लाहीमा मारिएका विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७४ असार १२ गते कैलालीमा, २०७६ जेठ १२ मा काठमाडौंमा बम विस्फोटमा ५ जनाले ज्यान गुमाए। २०७६ भदौ २ मा कैलालीमा बम विस्फोटमा एक कार्यकर्ताले ज्यान गुमाए। प्रहरी रेकर्ड अनुसार कास्कीमा पहिरोले पुरिएर विप्लवका ५ कार्यकर्ता मारिएको रेकर्ड प्रहरीसँग छ।
अर्कातिर विप्लवको बम विस्फोटबाट एकजना सैलुन व्यवसायीले काठमाडौंमा ज्यान गुमाए। त्यस्तै मोरङमा एकजना शिक्षकको विप्लवका कार्यकर्ताले हत्या गरे। उता भोजपुरमा विप्लवका कार्यकर्तासँगको झडपमा एकजना प्रहरी मारिन पुगेका थिए।
पक्राउ
यही बीचमा प्रहरी विप्लवका २ हजार ९८ जना नेता कार्यकर्ता पक्राउ गरेको थियो। प्रहरीले उनीहरुविरुद्ध २ हजार ७ वटा मुद्दा दर्ता गरेको थियो। प्रहरीले पक्राउ परेकामध्ये ९० जनालाई सोधपुछपछि छाडेको थियो। सरकारसँग वार्ता हुँदा हुँदै मुद्दा दर्ता गर्न बाँकी एउटा थियो।
प्रहरीका अनुसार मुद्दा दर्तापछि १ हजार ८६४ जना छुटेका थिए। धरपकडबीच सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई मूलधारमा ल्याउने कोसिस थालेका थिए। पुस ५ को प्रतिनिधिसभा विघटनसँगै जनयुद्धका एकजना अगुवा पुष्पकमल दाहाल प्रचण्डले अलग्गै समूह बनाएपछि ओलीले विप्लवलाई भूमिगत अवस्थाबाट आफ्नो समूहमा फर्काउने कोसिस थालेका थिए।
छुट्दै
विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’नख्खुबाट छुट्दैछन् अर्का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’काभ्रे प्रहरीको हिरासतबाट छुटिसकेका छन्। केन्द्रीय सदस्यहरू चन्द्र बहादुर चन्द ‘वीरजङ्ग’, माइला लामा, ओमप्रकाश पुन, भरत बम ‘रणवीर र चूडामणि ओली रिहा हुँदैछन्। यी मध्य सुदर्शन, कन्चन, वीरजङ्ग आजै विप्लवसँगै सार्वजनिक हुने तयारीमा छन्।
ओली सरकारसँगको वार्तापछि जेल तथा हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका १ सय ४४ जना नेता कार्यकर्ता रिहा हुने भएका छन्। नेकपा र सरकारबीच सम्पूर्ण बन्दीहरुलाई रिहाइ र मुद्दा खारेजी गर्ने सहमति जुटेसँगै जेल तथा हिरासतमा रहेका नेकपाका सिनियर नेतादेखि कार्यकर्ताहरु रिहा हुने भएका हुन्।
सरकारले प्रतिबन्ध लगाएपछि नेकपाका २ हजार ९८ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो । तीमध्ये, अहिले १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा छन्। उनीहरुलाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्ने तयारी गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।