को हुन् विप्लव ? जसले नेपाली राजनीतिमा ट्वीस्ट ल्याए

संसद् विघटनपछि नेपाली राजनीति निकै तरंगित बनेको छ। सर्वोच्चको फैसलापछि नेकपाबाट छुटेका माधव नेपाल र प्रचण्ड पक्षधर जसरी पनि ओलीलाई सत्ताबाट गलहत्याउने प्रयासमा छन् भने ओली सत्ता जोगाउने दाउमा। 

नेपाल दाहालले नयाँ सरकार गठनका लागि कांग्रेस लगायत दलसँग गुहार गलाउँदै गर्दा प्रधानमन्त्री ओली भने एकाएक विप्लवतर्फ हानिए। उनै विप्लव जो तत्कालीन नेकपा माओवादी केन्द्रबाट टुक्रिएर भूमिगत भएका थिए। 

चार वर्षदेखि भूमिगत विप्लव र उनको पार्टीमाथि सरकारले दुई वर्षअघि राजनीतिक प्रतिबन्ध लगाएको थियो। जसलाई ओलीले नै लुटेराको समूहको संज्ञा दिएका थिए। 
तर, आजै लुटेरा भनिपाउने र भन्ने दुवै एकै मञ्चमा उभिएका छन्। १० वर्षे जनयुद्धमा प्रचण्डको दाहिने हात नै भएर विप्लवले मोर्चा सम्हालेका थिए। पार्टीभित्रको आन्तरिक किचलोपछि उनी प्रचण्डसँग टाढिएका थिए।

वैचारिक हिसाबले प्रचण्डसँग मिल्ने भए पनि अहिले उनले प्रचण्डलाई लत्याउँदै ओलीसँग सहमतिमा आउनुलाई धेरैले आश्चर्यका रुपमा हेरेका छन्। विप्लवको इन्ट्रीले नेपाली राजनीतिमा नयाँ ट्वीस्ट ल्याएको छ।

अब ओली र विप्लव मिलेर के पो गर्छन् भन्ने चासो र चिन्ता राजनीतिक दल र आम जनतालाई समेत छ। पछिल्लो समय नेपाली राजनीतिमा यति धेरै महत्वका साथ हेरेर सरकारले नै सहमतिमा ल्याउनुपर्ने विप्लव को हुन् त। 

विसं २०२४ साल फागुन ११ गते रोल्पाको केवरी गाउँमा चित्रबहादुर चन्द र खुसीमाया घर्तीका कान्छा सन्तानका रुपमा नेत्रविक्रम चन्दको जन्म भएको हो। विप्लवको जन्मस्थान त्यही रोल्पा हो जहाँबाट माओवादीले जनयुद्धको सुरुवात गरेको थियो। 



२०५२ सालमा सुरु माओवादी जनयुद्धका क्रममा भूमिगत भएपछि उनको उपनाम ‘विप्लव’ रहन गएको हो। 

रोल्पामै बाल्यकाल बिताएका विप्लवले लिवाङ बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी उत्तीर्ण गरेका थिए। उनका तीन दिदी र दुई दाजु छन्।



सुभद्रा मल्लसँग वैवाहिक सम्बन्धपछि दुई छोरा र एक छोरी छन्। १ फागुन २०५२ मा माओवादी जनयुद्ध सुुरु हुँदा विप्लव विद्यार्थी राजनीतिमा उपाध्यक्ष थिए। यसपछि भने उनले २०५४ मा ललितपुर पार्टी सेक्रेटरी जिम्मेवारी पाए।

२०५४ सालमा कर्णाली उपक्षेत्रीय ब्यूरो इन्चार्ज जिम्मेवारीसमेत पाए। २०५५ भदौमा सम्पन्न पार्टीको चौथो विस्तारित बैठकबाट उनी माओवादी केन्द्रीय सदस्य बन्न सफल भए। त्यसको चार वर्षपछि पोलिटब्युरो सदस्य हुँदै उनी २०६१ मा रुकुम–रोल्पा आधार इलाका ब्युरो इन्चार्ज भए। 

त्यसपछि उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र बनेका थिए। तर, पार्टी बैठक, भेलामा खरो र स्पष्ट रूपमा उभिएर पार्टीभित्रका विसंगति विषयमा बोल्न थालेपछि प्रचण्डबाट टाढिन थालेको उनीनिकट बताउँछन्।

विप्लवले जनयुद्ध रोकेर शान्ति प्रक्रियामा आउने नेतृत्व निर्णयप्रति अन्तरविरोध प्रस्तुत गरेका थिए। १८–२२ साउन २०६४ मा बालाजुमा भएको पार्टीको ५ औं विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेल लगायतले कांग्रेस नेतृत्वको सरकारबाट ‘पार्टी फिर्ता हुनुपर्ने’ भन्दै नेतृत्वको विरोध गरे।

३ असार २०६९ मा प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो। सोही वर्ष सम्पन्न महाधिवेशनले मोहन वैद्य ‘किरण’ अध्यक्ष, रामबहादुर थापा ‘बादल’ महासचिव र विप्लव सचिव भए। नेकपा–माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्‍यो। 

यसको मुख्य योजनाकार विप्लव नै थिए। वैद्य संरक्षक बनाएर थापा अध्यक्ष र आफू महासचिव बन्ने योजनाले सफलता नपाएका कारणबाट पनि विप्लव असन्तुष्ट थिए। यही असन्तुष्टिसँगै नेकपा–माओवादी पनि फुटाएर उनले ८ मंसिर २०७१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरे र महासचिव आफैं बने। २०७३ फागुनमा उनले पार्टीको नाम ‘नेकपा’ राखेका हुन्।

एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको राजनीतिक मागको लय समातेका उनी करिब चार वर्षयता भूमिगत जीवन बिताइरहेका थिए। सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएपछि शुक्रबार नवलपरासीबाट उनी सार्वजनिक भएका हुन्। 

  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १६:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया