नेपाली कांग्रेसका नेता बालकृष्ण खाडले स्थानीयले अपनत्व नलिएको विकासले गति नलिने बताएका छन् । मोतीपुर औद्योगिक क्षेत्रमा हिजो भएको तनावग्रस्त परिस्थितिको विषयमा विज्ञप्ति जारी गर्दै खाणले त्यस्तो बताएका हुन् ।
रुपन्देही जिल्लामा औद्योगिक करिडोर निर्माण गर्ने चाहना रुपन्देहीवासी सबैको भएको भन्दै नेता खाडले जनताले अपनत्व नलिने विकास जनताका लागि नहुने बताए । विकासका काममा जबर्जस्ती गर्न नहुने उनको भनाइ छ ।
बुटवल उपमहानगरपालिकास्थित वडा नं. १७, १८ मोतीपुर, शुद्धोधन गाउँपालिका वडा नं. ३ र सियारी गाउँपालिका वडा नं. ७ मा लामो समयदेखि बसोवास गर्दै आएका किसानहरुलाई लालपुर्जा दिनुपर्ने ठाउँमा जबर्जस्ती त्यहाँका जनताको सहमति विपरीत मोतीपुर औद्योगिक करिडोर शिलान्यास गर्ने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको खाणले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
खाणले मोतीपुर, शुद्धोधन र सियारीका जनताको मागको उचित सम्बोधन नगरी जबर्जस्ती ढङ्गले जनतालाई बल प्रयोग गरी धम्काएर र चित्त दुखाएर गरिएको विकासको औचित्य नहुनेतर्फ सरकार गम्भीर बन्न जरुरी भएको बताए ।
नेता खाडले मोतीपुर, शुद्धोधन र सियारीका जनताको उचित व्यवस्थापन र मागलाई सम्बोधन गरी विकास कार्य अगाडि बढाउन सरकारसँग माग समेत गरेका छन् । यसअघि, सोही घटनाका सम्बन्धमा नेकपाको प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले आफू जनताको पक्षमा रहेको बताइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।