आजदेखि दोस्रो चरणको खोप अभियान, कोभ्याक्सको खोप पनि आउँदै

आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ । दोस्रो चरणको अभियानमा ६ हजार खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर अभियानको सुरुवात गर्दैछन् । 

बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाएर अभियानको सुरुवात गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर दोस्रो चरणको खोप अभियान सुरु हुनेछ । 

आजदेखि ६५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने मन्त्रालयको तयारी छ । पहिलो चरणको अभियानमा छुटेकाहरुले पनि यो चरणमा ६५ वर्षमाथिका सँगै खोप लगाउन पाउनेछन् । 

दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालक लगायतलाई खोप दिने यसअघि घोषणा गरिएपनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो । 

तर, हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई यही चरणमा खोप दिइने छ । यसअघि गत माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान चलाइएको थियो । 

यस्तै, कोभ्याक्स अन्तर्गत नेपालले पाउने खोप पनि आजै आइपुग्ने भएको छ । मन्त्रालयका अनुसार कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज खोप आज आइपुग्ने भएको हो । कोभ्याक्स अन्तर्गत २० प्रतिशत जनताका लागि खोप आउने बताइएको छ । 



नेपालमा प्रयोगमा रहेको कोभिशिल्ड उत्पादक सिरम इन्स्टिच्युटले नै उत्पादन गरेको खोप कोभ्याक्स अन्तर्गत नेपाल आउन लागेको हो । नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि सार्क मध्येबाट कोभ्याक्सको खोप पाउँदैछन् । 



  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार ८:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया