गौर हत्याकाण्ड : उपेन्द्र यादवलाई कारवाही माग गर्दै पीडितहरु पुगे बालुवाटार

काठमाडौं : रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरी १४ वर्षअघि भएको अमानवीय घटनाका पीडित परिवारले दोषीलाई कारवाही माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेका छन्। 

पीडित परिवारले आइतवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर उक्त घटनाका दोषीहरुलाई कारवाही माग गरेका हुन्। 

गौर हत्याकाण्डमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मुछिएका छन्। यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताको आक्रमणबाट २०६३ चैत ७ गते माओवादी समर्थक २७ जनाले ज्यान गुमाएका थिए। 

उक्त घटना पीडित परिवारका विधवा/ एकल महिलाहरुले आइतवार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर यादवसहितमाथि कारवाही माग गरेका हुन्। 

रौतहटमै पहिलो संविधानसभा निर्वाचनको समय भएको बम विस्फोटमा घाइते २३ जना बढीलाई इँटाभट्टामा हालेर जिउँदै मारेको अभियोगमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई जेल सजाय भइसकेको छ तर उपेन्द्र यादवमाथि कारवाही नभएको भन्दै पीडितहरुले प्रधानमन्त्रीलाई गुहारेका हुन्। 

पीडित परिवारको कुरा सुनिसकेपछि ओलीले कारवाही र छानबिन अघि बढाउने आश्वासन दिएका छन्। गौर हत्याकाण्डका बेला यादव मधेसी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष थिए। 



उनकै निर्देशनमा फोरमका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको दाबी तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।

जिल्ला अदालत रौतहटमा १४ वर्षदेखि यादवविरुद्धको जाहेरी विचाराधीन अवस्थामा छ । गौर हत्याकाण्डका पीडित परिवारले यादवविरुद्ध किटानी जाहेरी दिएका थिए। तर, प्रहरीले अहिलेसम्म घटनाको अनुसन्धान अघि बढाएकै छैन



यो घटनामा अनुसन्धान अघि बढे उपेन्द्र यादवलाई पनि अफ्ठेरो पर्न सक्ने अवस्था छ। थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ७ जनाले ज्यान गुमाउँदा सांसद रेशम चौधरी अहिले जेलमा छन्। 

  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १३:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया