सर्वोच्चको फैसलाले फेरि जन्मिन सक्छन् नेकपा एमाले र माओवादी केन्द्र
ऋषि कट्टेलको मुद्दामा फैसला आउँदै

ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट हालिएको रिटमाथि आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ। नेकपा अस्तित्वमा हुँदाहुँदै ने क पा बनाएर केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगमा दर्ता गरेपछि कट्टेल सर्वोच्च गएका थिए। 

कट्टेलको रिटमाथि न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फैसला दिने भएको छ। यसअघि फागुन १३ गते न्यायाधीशद्वय श्रेष्ठ र रेग्मीको इजलासले यो मुद्दाको फैसला २० फागुन दिने भनेको थियो। तर  पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण यसलाई आजका लागि सारिएको थियो। अब उक्त मुद्दाको फैसला सुनाउन सर्वोच्च अदालत तयार भएको ।

चासो 

तत्कालीन नेकपा एमाले-माओवादी केन्द्रबीच ३ जेठ ०७५ मा एकता भएर नेकपा बनेको थियो। तर त्यसबेला नेकपालाई निर्वाचन आयोगले दर्ता गर्न मानेको थिएन। त्यसअघि नै २०६९ साउनमा नेकपा आयोगमा दर्ता भइसकेको थियो। तर आयोगले दाहाल-ओलीलाई कोष्ठकभित्र नेकपा लेखेर २३ जेठ ०७५ मा दर्ता प्रमाणपत्र दिएको थियो। अनि कट्टेल नेतृत्वको नेकपा सर्वोच्च अदालत पुग्यो।

कट्टेलले २०७५ मंसिर २१ गते आफूले दर्ता गरेको नेकपा अस्तित्वमा हुँदा हुँदै अर्को ने क पा पनि दर्ता गरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। त्यसअघि २०७५ जेठ पहिलो साता तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेका थिए। ओली र प्रचण्ड अध्यक्ष रहेको सत्तारुढ ‘ने क पा’लाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसअघि नै दर्ता रहेको नेकपा अध्यक्ष कट्टेल अदालत पुगेको थियो।

यदि सर्वोच्च अदालतले कट्टेलको नेकपालाई मान्यता दिएमा दाहाल-नेपाल र ओलीले अहिले दाबी गरिरहेको नेकपा कानुनी रुपमा अवैधानिक हुनेछ। नाम मात्रै जुधेकाले फेर्ने फैसला भएमा नेकपा विवादको टुंगो निर्वाचन आयोग पुग्न सक्छ। यसले राजनीतिक घटनालाई अर्को मोडमा लैजान सक्छ।



कट्टेलको पक्षमा सर्वोच्चले फैसला दिएमा दाहाल-नेपाल र ओली दाबी गरेको नेकपा पूर्ववत् तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको अवस्थामा फर्किने अवस्था आउन सक्छ। यस्तो भएमा सूर्य चिन्ह तत्कालीन एमालेकै हुनेछ। ऋषि कट्टेलले मुद्दा जितेमा तत्कालीन समयमा केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले र प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र ब्यूँझिन सक्ने कानुनविद्हरु बताउँछन्।



मोर्चाबन्दी 

कट्टेल अहिले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र विश्वभक्त दुलाल 'आहुति' नेतृत्वको दलबीच रणनैतिक संयुक्त मोर्चा बनाएर समीकरण भएको छ । यसले कट्टेल अझै हौसिएका छन्। नेकपाको आधिकारिताबारे निर्वाचन आयोगमा संघर्ष चलिरहेका बेला कट्टेलको मुद्दाले नयाँ परिस्थिति ल्याउन सक्ने देखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवको करिब चार वर्ष लामो भूमिगत जीवन टुङ्ग्याइदिएको भोलिपल्टै एउटा संयोग देखिएको थियो। एकसाथ जनयुद्ध लडेका मोहन वैद्य किरण, सिपी गजुरेल 'गौरव' र नेत्रविक्रम चन्द एकै ठाउँ आइपुगेका छन्। त्यहाँ कट्टेल र आहुति पनि पहिले नै थिए। 

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरिदिएपछि त्यसविरुद्ध संयुक्त आन्दोलनका लागि गत पुस १४ गते किरण, विप्लव, ऋषि कट्टेल र विश्वभक्त दुलाल 'आहुति' मिलेर रणनैतिक संयुक्त मोर्चा बनाएका थिए। 

पुस ५ गते व्यवहारिक रुपमा नेकपा विभाजन भए पनि दुवै समूहले कानुनी मान्यता पाइसकेका छैनन्। दुवैले मान्यता नपाएको अवस्थामा कट्टेलले दायर गरेको मुद्दामा चासो बढेको हो।

अनेक नेकपा 

अहिले नेपालमा विभिन्न नेकपा सक्रिय छन्। पुस ५ अघि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थियो। पुस ५ पछि त्यही कोष्ठकभित्रको नेकपा पनि दुई चिरा छ। ओली र दाहाल दुवैले कोष्ठकभित्रको नेकपामाथि दाबी गरिरहेका छन्। जुन कुराको छिनोफानो निर्वाचन आयोगले गर्न बाँकी छ।

अर्को नेकपा शुक्रबार मात्रै खुला राजनीतिमा आएका नेत्रविक्रम चन्दसँग छ।  जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै हैसियत दिएर स्वागत गरे। यसलाई यसअघि भूमिगत नेकपा पनि भनिन्थ्यो।

तेस्रो नेकपा ऋषि कट्टेलको हो। जुन दाहाल-ओलीको भन्दा पहिले निर्वाचन आयोगमा दर्ता भइसकेको थियो। अहिले उनै कट्टेलले आफ्नो आधिकारिक नेकपामा दाहाल-ओलीले हडपेको आरोपसहित अदालतमा मुद्दा लडिरहेका छन्। 

  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १४:३८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया