नेकपा प्रचण्ड–माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाले धेरै ठाउँमा असर पर्ने बताएका छन् । गुरुङले अदालतको निर्णय गलत समयमा आएको प्रतिक्रिया दिँदै ‘बेठीक टाइमको न्याय’को संज्ञा पनि दिएका छन् ।
संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङले ‘बेठीक टाइम’मा न्याय दिने काम भएको बताएका हुन् ।
अदालतको फैसलाले दलको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको ‘डेडलक’लाई अझै मद्दत पुग्ने पनि उनले बताए । नेता गुरुङले फैसलासँगै साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएर यथास्थानमा पुर्याएको भन्न नमिल्ने तर्क गरे ।
उनले पार्टी एकीकरण पछि ३ वर्षमा धेरै काम भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।