माधव नेपालका विकल्प : पहिलो एकता बचाउने, दोस्रो ओलीसँगै मिल्न जाने
एमालेमै गएर ओली प्रवृत्तिविरुद्ध लड्न सुझाव

काठमाडौं : सर्वोच्च अदालतले आइतवार ऋषिराम कट्टेलले २०६९ सालमा निर्वाचन आयोगमा दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टीलाई मान्यता दिएपछि त्यसको सबैभन्दा ठूलो झट्का माधवकुमार नेपालमाथि परेको छ।

२०७५ साल जेठ ३ गते तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई दबाब दिएर अर्को नेपाल कम्युनिष्ट पार्टी दर्ता गराएका थिए।

आफ्नो नेकपा पहिले नै दर्ता भएको अवस्थामा नाम जुध्ने गरी अर्को नेकपा दर्ता गराइएपछि कट्टेल निर्वाचन आयोगविरूद्ध सर्वोच्च गएका थिए। सर्वोच्चले कट्टेलकै पक्षमा फैसला दिँदै ओली-दाहाल नेतृत्वको नेकपालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइदिएको छ। यसको अर्थ २०७५ जेठ ३ गते एकता भएर दर्ता भएको नेकपा सर्वोच्चको निर्णयबाट खारेजीमा परेको छ।

माधवलाई संकट

पुस ५ गते विघटन गरिएको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले ब्यूँताइदिएपछि चितवनमा रहेका माधव नेपालले प्रचण्डसँग लड्डु खुवाइ खुवाइ गरेका थिए। दाहाल-नेपाल समूहले सर्वोच्चको उक्त निर्णयलाई उत्सवकै रुपमा लिएर दीपावली नै गरेको थियो। तर दाहाल-नेपालको उक्त खुसी १२ दिन पनि टिकेन। 

फागुन २३ गते अर्थात हिजो आइतवार सर्वोच्च अदालतले नेकपालाई खारेज गरिदिएन मात्रै एकता गर्ने भए अब नयाँ प्रक्रियाबाट यथाशक्य चाँडो निर्वाचन आयोगमा जान पनि भनिदियो। सर्वोच्चको यो निर्णयसँगै अब संसदमा प्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल एमालेका सांसद भएका छन्। अर्कातिर प्रचण्ड, ओलीतिर लागेका रामबहादुर थाप बादल माओवादी केन्द्रका सांसद भएका छन्। 



यो अवस्थामा सबैभन्दा ठूलो धर्मसंकट माधव नेपाललाई परेको छ। भलै ओलीले आइतवार परेको जन्म दिनमा फोन गरेर शुभकामना दिए पनि यी दुईको सम्बन्ध अहिले पानी बाराबारको अवस्थामा छ। 



पुस ५ को प्रतिनिधिसभा विघटनसँगै ओलीसँग सम्बन्धविच्छेद गरेर प्रचण्डतिर लागेका नेपाल कानुनी रुपमा अब एमालेका सांसद भएका छन्। उनीमाथि अब ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईको ह्विप पनि लाग्नेछ। यदि ह्विप उलंघन गरेमा उनले सांसद पद नै गुमाउनुपर्नेछ। 

एउटै नेकपामा रहँदा नेपालले ओलीसँग लामो समय अध्यक्ष आफूलाई दिन माग गरे। तर ओलीले दुईमध्ये कुनै पद छाड्न तयार भएनन्। ओलीविरुद्ध अविश्वास प्रस्ताव हाल्दै प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा सारेका नेता नेपालसँग अब दुईवटा विकल्प देखिएका छन्। अहिले उनी यिनै दुई विकल्पमाथि आफ्ना सहयोगी र नेता कार्यकर्तासँग संवादमा जुटेका छन्। 

माधवका विकल्प

नेपालले अहिले आफ्नो समूहनिकट र प्रचण्ड पक्षधरसँग पनि अबको रणनीतिबारे छलफल थालेका छन्। तर उनले आइतवार बसेको संसद बैठकपछि ओलीसँग मिल्ने कुरा कल्पना नै गर्न नसकिने बताएका थिए। तर उनले कल्पना नगरेकै कुरातिर अघि बढ्नुपर्ने बाध्यता आइ लाग्दैछ।

एकता जोगाउने 

ओलीलाई छाडेर प्रचण्डतिर लागेका माधवकुमार नेपाल र झलनाथ खनाललाई ठूलो धर्म संकट आइलागेको छ। साविकको एमाले छाडेर ब्यूँतिएपछि सूर्य चिन्ह दाबी गरिरहेका नेपाल र खनालले अब माओवादीको चिन्ह हँसिया हथौडा लिनुपर्ने भएको छ। यो अवस्थामा कसरी अघि बढ्ने भनेर उनीहरु आन्तरिक संवादमा जुटेका छन्। 

नेता नेपालले अझै पनि नेकपाको एकता जोगाउने गरी आफूनिकट र दाहाल पक्षसँग छलफल गरेका छन्। सोमबार मात्रै नेता नेपालले काठमाडौंको अर्याल होटलमा आफूपक्षीय नेताहरुसँग छलफल गरेको स्रोतले जनाएको छ।

उक्त छलफलमा पनि सर्वोच्चको निर्णयपछिको अवस्थालाई लिएर नेपालले तिनै दुईवटा विकल्पमा कुरा गरेका थिए। पहिलो थियो, नेकपाकै एकता बचाइराख्ने, दोस्रो थियो, ओलीसँगै मिसिएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने।

आइतवार सर्वोच्चको निर्णयपछि नेता खनालले आफू एमाले नै भएको बताएका थिए। तर प्रचण्ड समूहका अध्यक्ष माधव नेपालले भने अब ओलीतिर फर्किने कुनै सम्भावना नरहेको बताउँदै बरु सूर्य चिन्ह पनि खोसेर आफूहरुले लिने तर्क गरेका थिए। उनले भने जस्तो अवस्था देखिएन। त्यहीकारण उनी अहिले केन्द्रदेखि तलसम्म नै छलफलमा जुटेका छन्। 

ओलीलाई छाडेर पूर्व एमालेको ठूलो पंक्ति प्रचण्डतिर लागेको छ। नेपाल, खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहोरा अब माओवादी भएका छन्। सर्वोच्चको फैसलाप्रति आपत्ति जनाएका उनीहरुको आगामी कदम के हुन्छ? यसबारे केही बोलिसकेका छैनन्। 

दाहाल-नेपाल समूहका एकजना नेता ठाकुर गैरे अहिलेलाई एकता बचाइ राख्ने विकल्प नै पहिलो हुने बताउँछन्। उनले पहिलो एकता बचाउने उपायबारेमा छलफल भइरहेको जानकारी दिए। 

'अहिलेको अवस्थामा पनि नेकपाको एकता बचाउन सकिने उपायको खोजी गर्नुपर्छ भन्ने मेरो मत हो', उनले फरकधारसँग भने, 'बरु त्यसका लागि कुन नेताले के के त्याग गर्नुपर्ने हो तयार हुनुपर्छ। जनादेश पनि एकताकै पक्षमा छ। त्यसैले सर्वोच्चको आदेश अनुसार नयाँ प्रक्रियाबाट दुवै पार्टीलाई एकतातर्फ लैजान तयार हुनुपर्छ।'

अर्कातिर पेरिस डाँडामा भएको प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकमा पार्टी एकता बचाउने दिशामै कुरा भएको नेता रघुजी पन्तले जानकारी दिएका छन्। 

‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं भनेर मैले कुरा राखेँ', पन्तले भने, 'अदालतको फैसला आए पनि एकतालाई अघि बढाउने सम्भावना छ भने अध्यक्ष कमरेड प्रचण्ड र ओलीजीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्छ।’

पन्तले पार्टी एकता जोगाउन सकिने सबै उपाय खोजी गरिनुपर्ने कुरा राखेको बताए। 'मुख्य रुपमा पार्टी एकता जुन ढंगबाट अघि बढेको थियो, जोगाएर जान सकिन्छ भने सम्भावना खोजौँ भनेर आएको छु, अरु साथीहरुले पनि यही लाइनबाट कुरा राखेका छन्।'

उनले सर्वोच्चको फैसलाको सम्मान गरिने बताए। 'सर्वोच्चको फैसलाको सम्मान गर्छौँ तर अलिक बढी राजनीतिक भयो,' उनले भने, 'सर्वोच्चबाट हिजो जुन फैसला आयो, अब नयाँ ढंगबाट सोच्नुपर्ने अरु नेताहरूले बताएका छन्।'

ओलीतिर फर्किने 

नेता नेपालले अर्को विकल्पका रुपमा ओलीतिर अर्थात् तत्कालीन एमालेतिरै फर्किने विकल्पमा पनि संवाद अघि बढाएका छन्। होटल अर्यालमा सोमबार भएको छलफलका विषयमध्ये मुख्य यो पनि थियो।

'त्यहाँ त म गएको छैन तर पहिलो विकल्प एकता बचाउने हो भने दोस्रो विकल्प भनेको पूर्व एमाले जति एमालेमै फर्किएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने हो', नेता गैरेले भने, 'सर्वोच्चको फैसलाले साविककै दुई पार्टी फर्काइदिएको अवस्थामा यो विकल्पमा पनि कुरा भइरहेको छ। तर एकता नै अहिलेको प्राथमिकता हो।'

प्रचण्ड समूहमा रहेका माधव नेपालसहित झलनाथ खनाल, भीम रावल र वेदुराम भुसालसहितका शीर्ष नेताहरुले एमालेमै रहेर केपी ओली प्रवृत्तिविरुद्ध लड्नेबारे पनि छलफल चलाएका छन्। होटल अर्यालमा सोमबार बिहान भएको छलफल पनि त्यसमै केन्द्रित थियो। 

‘सर्वोच्चले साविककै पार्टी फर्काइदिएपछि अब एमालेमै बसेर ओली प्रवृत्तिविरुद्ध लड्नुपर्ने अवस्थाबारे कुरा भएको छ', एकजना नेताले भने, 'सर्वोच्चको निर्णयानुसार नयाँ प्रक्रियाबाट एकताका लागि पहल गर्ने गरी बैठकमा कुरा भएको छ।'

अर्कातिर तत्कालीन एमाले सचिव भीम आचार्यले अब एमालेमै फर्किएर संघर्ष गर्नुपर्ने बताएका छन्। उनले सबै विकल्पमा अहिले संवाद भइरहेको पनि जानकारी दिएका छन्। 

  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १८:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया