नेपाल सरकारको निशानाछापका मुख्य डिजाइनर नवीन्द्रमान राजभण्डारीले लेखेको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक भएको छ । कलाकार तथा लेखक राजभण्डारीको सो पुस्तक शनिबार लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्मा पुस्तक विमोचन भएको हो ।
प्रा.डा. अभि सुवेदी, अग्रज कलाकार तथा कलालेखक मदन चित्रकार, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा. विनोद विष्ट, पूर्वसचिव शरदचन्द्र पौडेल, साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमी र कवि डा. गीता थपलिया त्रिपाठीले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरेका थिए ।
उक्त पुस्तकमा टिप्पणी गर्दै कलाकार तथा कलालेखक मदन चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढंगले बुझ्न पुस्तकले सघाउने विचार व्यक्त गरे । उनले पुस्तकमार्फत युरोपको राजनीतिक तथा सांस्कृतिक परिवर्तनसँगै कलामा देखिएका नयाँ आधारलाई कलाले अंगिकार गरेका विषयसमेत थाहा पाउन सकिने जिकिर गरे । उनले भने, ‘विश्व कलाका विविध आयाम र चिन्तनलाई नजिकबाट नियाल्न पुस्तक निकै उपयोगी रहेको छ । साथै पुस्तकले कलाको सिलसिलेबार विकासक्रम र त्यसको आधारलाई केलाएको छ ।’
यस्तै, कार्यक्रममा प्रा.डा. अभि सुवेदीले नेपाली भाषामा विश्वकलाका विभिन्न पक्षलाई समेटेर निकालिएको यो पुस्तक कलाकार, विद्यार्थी तथा कलाप्रति रुचि राख्ने जोकोहीका लागि उयपोगी हुने विचार व्यक्त गरे । उनले भने, ‘पश्चिमी कलाका बारेमा खासै नेपालीमा पुस्तक लेखिएको छैन । यसरी सिस्टमेटिक ढंगले पनि लेखिएको छैन । हामीले विश्वका कलाका प्रदर्शनी हेर्न पाउँदैनौँ । पुस्तकबाट ती कला र कलाकारका बारेमा थाहा पाउने हो । यस दृष्टिले यो पुस्तक निकै महत्वको रहेको छ ।’
डा. विनोद विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको बताए । उनले लेखकले कलाका विभिन्न शैलीलाई तथ्यपरक ढंगले पुस्तकमा चित्रण गरेको विचार व्यक्त गरे । पूर्वसचिव तथा लेखक शरदचन्द्र पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको धारणा व्यक्त गरे । उनले भने, ‘पुस्तक नेपाली कला तथा साहित्य क्षेत्रका लागि महत्व राख्ने गरी प्रकाशित भएको छ ।’
लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्वको रहेको बताए । उनले भने, ‘पुस्तकले कलाका आन्दोलन र त्यसको प्रभावलाई केलाउन सफल भएको छ ।’
कार्यक्रममा डा. गीता थपलिया त्रिपाठीले कलाका विभिन्न वाद बुझ्नका लागि पुस्तक उपयोगी रहेको बताइन् । भाषिक पक्ष राम्रो रहेको बताउँदै उनले कलालाई नजिकबाट नियाल्न र यसका विविध पाटाका बारेमा जान्न पुस्तक सहयोगी हुने विश्वास लिएको बताइन् । पुस्तकका लेखक नवीन्द्रमान राजभण्डारीले कलाका बारेमा जान्न चाहनेका फाइदा हुने विश्वासका साथै कृति प्रकाशित गरेको बताए । उनले भने, ‘नेपाली कलाकार, विद्यार्थी तथा कला पारखीका लागि पुस्तक एउटा पाठ्यसामग्री हुने विश्वास लिएको छु ।’
सिर्जना कलेज अफ फाइन आर्टले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार रहेको छ । राजभण्डारीले राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार पाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।