प्रचण्ड-माधव पक्षको बिदाइ बैठक, स्थायी कमिटीले लियो छुट्टिने निर्णय
नारायणकाजीले भने : अबको बाटो एमाले र माओवादी केन्द्र

नेकपा दाहाल-नेपालले छुट्टिने निर्णय लिएका छन्। सर्वोच्च अदालतले आइतवार दिएको फैसला अनुसार अब दाहाल-नेपाल समूह २०७५ जेठ २ गतेको अवस्थामा फर्किँदै छुट्टिने निर्णय लिएका हुन्।

दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले सर्वोच्चको फैसला अनुसार पूर्व एमाले र पूर्व माओवादी केन्द्र छुट्टिने निर्णय भएको बताए। उनले माओवादी केन्द्र र नेकपा एमालेको प्रक्रिया अघि बढेको पनि जानकारी दिएका छन्। 

'सर्वोच्चले दिएको फैसला अनुसार अब हामी माओवादी केन्द्र र नेकपा एमालेका रुपमा अघि बढेका छौँ', उनले भने, 'अब एकताका लागि नयाँ ढंगले विकल्प खोज्छौँ। तर सर्वोच्च अदालतले राजनीतिक निर्णय लिएकाले त्यसको प्रतिवाद पनि गर्छौँ।'

सर्वोच्चको फैसलाले ऋषिराम कट्टेलको नेकपालाई वैधता दिएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा खारेजीमा परेको थियो। यस्तो अवस्थामा पेरिस डाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बिदाइ बैठकमा परिणत भएको हो।

यो बैठकले ओलीलाई छाडेर दाहालतिर लागका माधवकुमार नेपाल र झलनाथ खनालहरू तत्कालीन एमालेमै फर्किने गरी निर्णय लिएको छ। बैठकमा सहभागी भएर बाहिरिने क्रममा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्र छुट्टिने निर्णय भएको बताए। 

उनले अब यी दुई समूह अलग अलग हिँड्ने बताएका छन्। बैठकमा के भयो? के के कुरा राख्नु भयो? निर्णय केही भयो कि भएन? पत्रकारहरुको यो जिज्ञासामा झलनाथले भने, 'अब एमाले अलग, माओवादी अलग।' खनालका अनुसार अब प्रचण्डहरू माओवादी केन्द्रमै रहने छन् भने पूर्व एमाले आफ्नै पार्टीमा फर्किने छ।



ओलीलाई छाडेर प्रचण्डतिर लागेका माधवकुमार नेपाल र झलनाथ खनाललाई ठूलो धर्म संकट परेपछि छलफल थालेका थिए। साविकको एमाले ब्यूँतिएपछि सूर्य चिन्ह दाबी गरिरहेका नेपाल र खनालले माओवादीको चिन्ह हँसिया हथौडा लिनुपर्ने भएको थियो। तर उनीहरुले दाहालसँग छुट्टिँदै एमालेमै समाहित हुने निर्णय लिएका हुन्। 

नेपालले सोमबार बिहान नेकपाको एकता जोगाउने गरी आफूनिकट र दाहाल पक्षसँग छलफल गरेका थिए। सोमबार बिहान नेता नेपालले काठमाडौंको अर्याल होटलमा आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए।



उक्त छलफलमा पनि सर्वोच्चको निर्णयपछिको अवस्थालाई लिएर नेपालले तिनै दुईवटा विकल्पमा कुरा गरेका थिए। पहिलो थियो, नेकपाकै एकता बचाइराख्ने, दोस्रो थियो, ओलीसँगै मिसिएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने।

आइतवार सर्वोच्चको निर्णयपछि नेता खनालले आफू एमाले नै भएको बताएका थिए। तर प्रचण्ड समूहका अध्यक्ष माधव नेपालले भने अब ओलीतिर फर्किने कुनै सम्भावना नरहेको बताउँदै बरु सूर्य चिन्ह पनि खोसेर आफूहरुले लिने तर्क गरेका थिए। उनले भने जस्तो अवस्था देखिएन। त्यहीकारण उनी अहिले केन्द्रदेखि तलसम्म नै छलफलमा जुटेका थिए।

ओलीलाई छाडेर पूर्व एमालेको ठूलो पंक्ति प्रचण्डतिर लागेको थियो। नेपाल, खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहोरा अब एमालेमै फर्किने छन्।

दाहाल-नेपाल समूहका एकजना नेता ठाकुर गैरे अहिलेलाई एकता बचाइ राख्ने विकल्प नै पहिलो हुने बताएका थिए। तर अब सर्वोच्चको फैसला अनुसार एमाले र माओवादी केन्द्रको प्रक्रिया अघि बढेको दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

नेता नेपालले अर्को विकल्पका रुपमा ओलीतिर अर्थात् तत्कालीन एमालेतिरै फर्किने विकल्पमा पनि संवाद अघि बढाएका थिए होटल अर्यालमा सोमबार भएको छलफलका विषयमध्ये मुख्य यो पनि थियो।

प्रचण्ड समूहमा रहेका माधव नेपालसहित झलनाथ खनाल, भीम रावल र वेदुराम भुषालसहितका शीर्ष नेताहरुले एमालेमै रहेर केपी ओली प्रवृत्तिविरुद्ध लड्नेबारे पनि छलफल चलाएका थिए।

‘सर्वोच्चले साविककै पार्टी फर्काइदिएपछि अब एमालेमै बसेर ओली प्रवृत्तिविरुद्ध लड्नुपर्ने अवस्थाबारे कुरा भएको छ', एकजना नेताले भनेका थिए, 'सर्वोच्चको निर्णयानुसार नयाँ प्रक्रियाबाट एकताका लागि पहल गर्ने गरी बैठकमा कुरा भएको थियो।' अर्कातिर तत्कालीन एमाले सचिव भीम आचार्यले अब एमालेमै फर्किएर संघर्ष गर्नुपर्ने बताएका थिए। 

भिडियो

  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १९:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया