रेशम चौधरीलाई छाड्न प्रधानमन्त्री सकारात्मक, बनाइयो संयुक्त कार्यदल
दुईवटा शर्त पूरा भए सत्ता सहयात्रा गर्न तयार

काठमाडौं : सत्तारुढ नेकपा एमालेले सत्ता साझेदारीसहितका विषयमा प्रतिपक्षी जनता समाजवादी पार्टी नेपालसँग वार्ता अघि बढाएको छ। वार्ताकै लागि एमाले र जसपाका नेताहरु सम्मिलित एउटा कार्यदल नै गठन गरिएको छ।

जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले यही फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर भेट गरेपछि संयुक्त कार्यदल बनाइएको हो। त्यसअघि जसपा नेताहरुले एमाले नेताहरु सुवास नेम्बाङ र विष्णुप्रसाद पौडेलसँग वार्ता गरेका थिए। 

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहसँगको विवादले उग्र रुप लिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीका लागि जसपासँग सम्वाद अघि बढाएका थिए। पटक पटक भएको छलफलपछि दुई दलले संयुक्त कार्यदल निर्माण गरेका हुन्।

उक्त कार्यदलमा नेकपा एमालेबाट उपनेता सुवास नेम्वाङ, उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई पनि छन्। 

एमाले संसदीय दलका उपनेता नेम्बाङका अनुसार सत्ता साझेदारीसहितका विषयमा जसपा, नेपाली कांग्रेस र राप्रपासँग पनि संवाद भएको छ। 'हो, सबै दलसँग मैले समेत संवाद गरेका हौँ। जसपासँग पनि पटक पटक छलफल भएको हो', उनले फरकधारसँग भने, 'हामी अझै पनि छलफलमै छौँ, तर कार्यदलबारे मलाई थाहा भएन, कुराकानी चाहिँ अहिले पनि भइरहेको छ।'

जसपा नेता सर्वेन्द्रनाथ शुक्लाले पनि आफूहरुले नेम्वाङ र पौडेलसँग कुरा गरेको बताए। 'हो, सत्ता साझेदारीसहित अन्य राजनीतिक विषयमा हामीले वार्ता गरेका हौँ', उनले भने, 'तर हामीले संविधान संशोधन र मधेस तथा थरूहट आन्दोलनका क्रममा थुना र जेल परेकाहरूको रिहाइ प्रमुख सर्तका रुपमा राखेका छौँ।'



शुक्लाले टीकापुर हत्याकाण्डका दोषी मानिएका कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीदेखि महोत्तरीमा पनि धेरैजना जेलमा रहेको बताए। 'हाम्रा धेरै साथीहरु जेलमा छन्। उनीहरुको रिहाइ र मुद्दा फिर्ताबारे एमाले सकारात्मक भएमा उसको प्रस्ताव स्वीकार्ने वातावरण बन्न सक्छ', शुक्लाले भने, 'संविधान संशोधनको मुद्दा त यथावत छँदैछ।'

सत्ता समीकरण 



सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदा केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा खारेजीमा परेका छन्। यससँगै साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएका छन्। यो अवस्थामा १२० सिटसहित नेकपा एमाले संसदको पहिलो दल बनेको छ। तर प्रधानमन्त्री ओलीले सत्ता टिकाइरहन अर्को एउटा दलको साथ आवश्यक हुन्छ।

साविकका दल ब्यूँतिएपछि अहिले ओली नेतृत्वमा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ। तर नेकपा माओवादी केन्द्रले जुनसुकै बेला ओलीलाई दिएको समर्थन फिर्ता लिइदिन सक्छ। यो अवस्थामा ओलीले सत्ता बचाइरहन जसपाको मात्रै साथ लिए पनि पुग्छ। 

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग-अलग भएका छन्। अब प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई दलभन्दा बढीको समर्थनमा प्रधानमन्त्री हुनुपर्नेछ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक हुन्छ । अर्थात् ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएकाले ओलीले फागुन २१ मै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर समर्थन गर्न आग्रह गरेका थिए।

एमालेसँग रहेको १२० सिटले सरकारका लागि बहुमत पुग्दैन। उसका लागि १३८ सिट पुर्‍याउने चुनौती छ। जसपाका दुई सांसद निलम्बित रहेकाले अब ऊसँग ३२ सिट छ। यदि जसपाले एमालेलाई साथ दियो भने दलको संख्या १५२ हुन्छ। त्यहीकारण ओली जसपालाई सत्तासाझेदार बनाउन जुटेका छन्। हाल नेपाली कांग्रेसका विजयकुमार गच्छदार र अफताब आलम एवम्  जसपाका हरिनारायण रौनियार र रेमशलाल चौधरी निलम्बित छन्। 

शर्त 

फागुन २१ को भेटमा जसपा अध्यक्ष ठाकुरले सत्ता सहकार्यका लागि केही शर्त राखेका थिए।  उनले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित (हाल निलम्बित) सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनपछि गठित लाल आयोग प्रतिवेदन सार्वजनिकसहितका माग अघि सारेका छन्। 

यदि त्यति माग पूरा भएमा सत्ता सहयात्रा हुने जवाफ ठाकुरले ओलीलाई दिएका छन्। संविधान संशोधनको मागलाई जसपाले अहिले नचर्काउने भएको छ। ठाकुरको प्रस्तावमा ओली सकारात्मक भएपछि कार्यदल बनेको हो।

ओलीले लाल आयोग प्रतिवेदनलाई दोस्रो प्राथमिकतामा राखेर रेशम चौधरी रिहाइको विकल्पबारे छलफल गरिरहेका छन्। त्यसका लागि उनले उपनेता सुवास नेम्वाङदेखि महान्यायाधिवक्ता अग्नि खरेलसँग पनि संवाद गरेको स्रोतले बताएको छ।

स्रोतका अनुसार रेशमको राजनीतिक पृष्ठभूमि थाहा पाएपछि प्रधानमन्त्री उनलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन सकारात्मक भएका हुन्। रेशमका पिता २०७४ को प्रदेशसभा निर्वाचनमा एमालेबाट उठेका थिए। रेशम पनि एमालेकै विद्यार्थी राजनीतिमा मूलधारमा आएको कुराको ब्रिफिङ नेता नेम्वाङले प्रधानमन्त्रीलाई गरेको स्रोतको दाबी छ। 

नेम्वाङले भेटे रेशम

जसपासँग सत्ता साझेदारीको कुरा अघि बढिरहेका बेला एमाले उपनेता सुवास नेम्वाङले रेशम चौधरीलाई भेटेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनले केही दिनअघि जेलमै पुगेर चौधरीलाई भेटेका थिए। जसपाका एकजना नेताका अनुसार नेम्वाङले रेशमलाई भेट्दा उनका सबै कागजपत्रहरू पनि अध्ययन गरेका थिए। 

'रेशम चौधरीको रिहाइमा प्रधानमन्त्री सकारात्मक भएपछि नेम्वाङले रेशमलाई भेट्नु भएको हो', जसपाका ती नेताले भने, 'यी सबै कुराले गर्दा सत्ता सहयात्राको सम्भावना सकारात्मक दिशातर्फ अघि बढेको छ। थप कुरा कार्यदलले टुंग्याउने छ।'

नेम्वाङकै अनुसार सत्ता साझेदारीसहितका कुरामा जसपासँग एमाले निकै नजिक पुगिसकेको छ। 'कुरा निरन्तर भइरहेको छ। निचोडमा पुगेका छैनौँ, उहाँहरुका सर्तबारे कुरा हुँदैछ', उनले भने, 'तर यसबारे निचोडमा पुग्न केही समय लाग्न सक्छ।'

  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १७:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया