महन्थ ठाकुर प्रधानमन्त्री ओलीलाई सघाउन तयार, फुटतर्फ जसपा
रेशम चौधरी छुट्ने, चन्दा चौधरी उपसभामुख !

सर्वोच्च अदालतले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएको असर जनता समाजवादी पार्टीमा देखिन थालेको छ। खारेज भइसकेको नेकपा जस्तै एकीकरण भइनसकेको जसपा पनि सत्तामा जाने या नजाने झगडाले फुट नजिक पुगेको छ। 

जसमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केपी ओली नेतृत्वको सरकारसँग लचिलो र नजिक देखिएका छन्। अर्कातिर डा. बाबुराम भट्टराई र उपेन्द्र यादव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्वादमा छन्। 

यस्तोमा बहुमत सांसद आफ्नो पक्षमा तानेका अध्यक्ष ठाकुर सरकारमा जान तम्तयार देखिएका छन्। जसपाले अहिलेसम्म संसदीय दलको नेता तय गर्न नसकेको अवस्थामा सबै जिम्मेवारी ठाकुरलाई नै दिइएको छ। यस्तो अवस्थामा ठाकुरले केपी ओली नेतृत्वको सरकार र नेकपा एमालेसँग वार्ताका लागि समिति नै बनाएका छन्। 

समीकरण 

नेकपा खारेज भएर साविककै एमाले र माओवादी केन्द्र कायम भइसकेको छन्। यो अवस्थामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने अपेक्षा थियो।  तर संघमा समर्थन फिर्ता लिँदा कर्णाली र सुदूरपश्चिम सरकार गुम्ने डर माओवादीलाई छ। 

यस्तोमा केपी ओली माओवादीलाई बाहिर पठाएर जसपालाई भित्र्याउन चाहन्छन्। हाल संसदमा एमालेको १२० सिट रहेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक हुन्छ ।



अर्थात् ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएकाले ओलीले फागुन २१ मै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर समर्थन गर्न आग्रह गरेका थिए।

एमालेसँग रहेको १२० सिटले सरकारका लागि बहुमत पुग्दैन। उसका लागि १३८ सिट पुर्‍याउने चुनौती छ। जसपाका दुई सांसद निलम्बित रहेकाले अब ऊसँग ३२ सिट छ। 



यदि जसपाले एमालेलाई साथ दियो भने दलको संख्या १५२ हुन्छ। त्यहीकारण ओली जसपालाई सत्तासाझेदार बनाउन जुटेका छन्। हाल नेपाली कांग्रेसका विजयकुमार गच्छदार र अफताब आलम एवम्  जसपाका हरिनारायण रौनियार र रेमशलाल चौधरी निलम्बित छन्। 

शर्त 

फागुन २१ को भेटमा जसपा अध्यक्ष ठाकुरले सत्ता सहकार्यका लागि केही शर्त राखेका थिए। उनले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित (हाल निलम्बित) सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनपछि गठित लाल आयोग प्रतिवेदन सार्वजनिकसहितका माग अघि सारेका थिए।

यदि त्यति माग पूरा भएमा सत्ता सहयात्रा हुने जवाफ ठाकुरले ओलीलाई दिएका छन्। संविधान संशोधनको मागलाई जसपाले अहिले नचर्काउने भएको छ। ठाकुरको प्रस्तावमा ओली सकारात्मक भएपछि कार्यदल बनेको हो।

ओलीले लाल आयोग प्रतिवेदनलाई दोस्रो प्राथमिकतामा राखेर रेशम चौधरी रिहाइको विकल्पबारे छलफल गरिरहेका छन्। त्यसका लागि उनले उपनेता सुवास नेम्वाङदेखि महान्यायाधिवक्ता अग्नि खरेलसँग पनि संवाद गरेको स्रोतले बताएको छ।

स्रोतका अनुसार रेशमको राजनीतिक पृष्ठभूमि थाहा पाएपछि प्रधानमन्त्री उनलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन सकारात्मक भएका हुन्। रेशमका पिता २०७४ को प्रदेशसभा निर्वाचनमा एमालेबाट उठेका थिए। रेशम पनि एमालेकै विद्यार्थी राजनीतिमा मूलधारमा आएको कुराको ब्रिफिङ नेता नेम्वाङले प्रधानमन्त्रीलाई गरेको स्रोतको दाबी छ। 

सहमति 

प्रम केपी ओलीसँग पटक पटकको वार्तापछि ठाकुर सत्तामा जान तयार भएका हुन्। तर उनलाई रोक्न प्रचण्ड लागि परेका छन्। मंगलबार स्थायी कमिटी बैठक डाकेर प्रचण्डले कांग्रेस र जसपासँग सघन वार्ता गर्ने निर्णय लिएको थियो। त्यही अनुसार उनले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता डा. बाबुराम भट्टराईसँग उनीहरुकै निवास पुगेर वार्ता गरिसकेका छन्। 

तर त्यसअघि नै ओलीले ठाकुरसँग वार्ता गरेर सत्ता साझेदारीका लागि मनाइसकेका स्रोत बताउँछ। जस अनुसार ओली टीकापुर हत्याकाण्डका मुख्य दोषी एवम् सांसद रेशम चौधरीलाई रिहा गर्न तयार भएका छन्।

जसपासँग सत्ता साझेदारीको कुरा अघि बढिरहेका बेला एमाले उपनेता सुवास नेम्वाङले रेशम चौधरीलाई भेटेका छन्। स्रोतका अनुसार उनले केही दिनअघि जेलमै पुगेर चौधरीलाई भेटेका थिए। जसपाका एकजना नेताका अनुसार नेम्वाङले रेशमलाई भेट्दा उनका सबै कागजपत्रहरू पनि अध्ययन गरेका थिए। 

'रेशम चौधरीको रिहाइमा प्रधानमन्त्री सकारात्मक भएपछि नेम्वाङले रेशमलाई भेट्नु भएको हो', जसपाका ती नेताले भने, 'यी सबै कुराले गर्दा सत्ता सहयात्राको सम्भावना सकारात्मक दिशातर्फ अघि बढेको छ। थप कुरा कार्यदलले टुंग्याउने छ।'

नेम्वाङकै अनुसार सत्ता साझेदारीका लागि जसपा तयार भइसकेको छ। 'कुरा निरन्तर भइरहेको छ। निचोडमा पुगेका छैनौँ, उहाँहरुका सर्तबारे कुरा हुँदैछ', उनले भने, 'तर यसबारे निचोडमा पुग्न केही समय लाग्न सक्छ।'

प्रधानमन्त्री ओलीले जसपालाई सत्तामा ल्याउन उपसभामुखका लागि सघाउने वाचा गरिसकेका स्रोतको दाबी छ। लामो समयदेखि उपसभामुख खाली रहेको अवस्थामा जसपाकी समानुपातिक सांसद चन्दा चौधरीले त्यो अवसर पाउने सम्भावना बढेर गएको छ।

सर्लाहीकी उनलाई उपसभामुख बनाउनुपर्ने प्रस्ताव ठाकुरले ओलीसँग राखेको खुलेको छ। ओली त्यसका लागि तयार भएका छन् तर रेशमलाई रिहाको सवालमा भने कानुनी प्रक्रिया पूरा गरेर अघि बढाउने जवाफ उनले दिएका छन्। 

जसपा फुट नजिक 

ठाकुरले राजेन्द्र महतोलाई साथमा लिएर ओली सरकारमा गएमा जसपा फुट्ने अनुमान गरिएको छ। जसपामा ठाकुर भारतीय लाइनका मानिन्छन् भने उपेन्द्र यादवको निकटता पछिल्लो समय चीनसँग छ। अर्कातिर डा. भट्टराई पनि भारतसँगै निकट छन्। उनले केही साताअघि भारत पुगेर नेपालको नयाँ नक्साको सार्वजनिक रुपमा विरोध नै गरेका थिए।

महन्थ ठाकुर केपी ओलीलाई समर्थन गरेर प्रधानमन्त्रीमा निरन्तरता दिने पक्षमा उभिँदा बाबुराम भट्टराई र उपेन्द्र यादव तयार छैनन्। महन्थले आफूसँग ३२ मध्ये २५ सांसदको साथ रहेको बताइरहेका छन्। 

रेशमलाई रिहा र चन्दा चौधरीलाई उपसभामुख बनाउने कुरा पूरा भए ओलीलाई सघाउने संकेत राजेन्द्र महतोले पनि गरिसकेका स्रोत बताउँछ। यसका लागि तर राजेन्द्र महतोले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने अडान राखेका छन्। 

'ओलीलाई सघाउँदा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउन दबाब परिरहेको छ', स्रोत भन्छ, 'जबसम्म संसदीय दलको नेता कोही चुनिँदैन तबसम्म कुरो अघि बढ्दैन।'

यस्तोमा ठाकुर भने तत्कालै मन्त्री बन्ने लाइनमा छैनन्। 'महन्थ ठाकुर राष्ट्रपति या प्रधानमन्त्री पाए मात्रै जाने सोचमा हुनुहुन्छ', स्रोत भन्छ, 'राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएपछि जसपा सरकारमा सामेल हुने पक्का जस्तै छ।'

  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १२:४७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया