प्रदेश सभा सुरु भएको तीन वर्ष बितेको छ। यो समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी पाँचवटा प्रदेशले आफ्नो नाम र स्थायी राजधानीको टुङ्गो लगाएका छन्। यो तीन वर्षको अवधिमा प्रदेश १ र २ ले निर्णय गर्न सकेका छैनन्।
मधेशका ८ जिल्ला समेटिएको प्रदेश २ को नाम के राख्ने भने विषय अहिलेसम्म टुङ्गो लागेको छैन। नाम र राजधानीको एउटा प्रस्ताव फेल भइसकेको छ। अर्को प्रस्ताव सरकारले अहिलेसम्म ल्याएको छैन।
प्रदेशको नाम मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकीलगायतका नामहरू राख्ने भन्ने विषयमा दलहरूको आआफ्नै धारणा छ। सम्भवत: प्रदेश २ को नाम मिथिला वा मधेश प्रदेश रहन सक्ने सम्भावना धेरै रहेको नेताहरुले बताएका छन्। राजधानी भने वीरगन्जले दाबी गरे पनि जनकपुरधाम नै रहने सम्भावना धेरै देखिएको छ।
प्रदेश २ को मन्त्रिपरिषद्को बैठकबाट २०७५ कात्तिक ११ गते प्रदेशको नाम र राजधानीको विषयमा सुझाव संकलनका लागि तत्कालीन नीति आयोगका उपाध्यक्ष हरिवंश झाको संयोजकत्वमा प्रदेशसभा सदस्यद्वय मोहनलाल चौधरी र रामप्रवेश बैठा सम्मिलित तीन सदस्यीय आयोग समेत गठन गरेको थियो।
प्रदेशको राजधानी र नामकरणका लागि गठित संवाद तथा सुझाव आयोगले आठवटै जिल्लामा ८ सय जनासँग सुझाव संकलन गरेपश्चात् ६४ पृष्ठको प्रतिवेदन समेत सरकारलाई बुझाइसकेको छ। प्रतिवेदन बुझाए पनि बहुसंख्यकले राजधानी र नामकरणको विषयमा के सुझाव दिएका छन् भन्ने कुरा अझै गोप्य राखिएको छ।
प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले प्रदेश सरकारले प्रस्ताव ल्याएपछि मात्र नाम र राजधानी टुङ्गो लाग्ने बताए। उनले भने,‘सरकारले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउने विषयमा एउटा प्रस्ताव फेल भइसकेपछि दोस्रो प्रस्ताव ल्याउन ढिलाइ गरेको छ। सरकारले समन्वय गर्ने काम गर्न सकेको छैन। हामी प्रतिपक्षी छौं। हामीसँग बहुमत पनि छैन। सरकारसँग बहुमत र दायित्व दुवै छ। त्यसैले नाम र राजधानीको सवालमा सन्तुलन कायम गर्नुपर्छ।’
प्रदेश सरकारले चासो नदेखाउँदा आर्थिक वर्ष २०७७-०७८ को प्रदेशसभाको हिउँदे अधिवेशन समेत हुन सकेको छैन। कात्तिक ३ गते यता प्रदेशसभा बैठक समेत बस्न सकेको छैन। प्रदेशको नाम र राजधानीको टुङ्गो, प्रदेशसभा बैठक, विकासे कार्यमा तिव्रता दिने लगायतका कामहरु मुख्यमन्त्री र मन्त्रीहरुको प्राथमिकतामा परेका छैनन्।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले आगामी बैठकमा कुनै पनि हालतमा प्रदेशको राजधानी र नामको टुङ्गो लगाइने दाबी गरे। उनले चैत दोस्रो साता प्रदेशसभाको बैठक बस्ने पनि जानकारी दिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।