प्रदेश २ का पाँच जिल्ला कोरोनामुक्त

प्रदेश नम्बर २ का पाँच जिल्ला कोरोनामुक्त भएका छन् । कुनै समय कोरोनाको हटस्पट बनेको प्रदेश २ मा पछिल्लो समय कोरोना संक्रमितको संख्या घटेसँगै यहाँको पाँच जिल्ला कोरोना मुक्त भएका हुन् ।
 
यस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिएका छन् । 

त्यस्तै, प्रदेशमा हाल १० जना सक्रिय संक्रमित छन् । बारा र पर्सामा ४–४ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् भने रौतहटमा २ जना संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा छन् ।
 
यस प्रदेशमा १७ हजार २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४० महिला र १ सय ६९ पुरुष गरी २ सय ९ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ ।
 
कोरोना संक्रमणबाट यस प्रदेशमा ४० महिला र १ सय ६९ पुरुष गरी २ सय ९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५१, सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, बारामा २४, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार यस प्रदेशमा आजसम्म ४ हजार ७ सय ५० बेड क्षमताका ९० वटा क्वारेन्टाइन र ८ सय ७७ बेड क्षमताका आइसोलेसन खाली छन् ।
 
सप्तरी जिल्लामा ३ सय ८५ बेड क्षमताका १९, सिरहामा १ सय ८५ बेड क्षमताका ८, धनुषामा ३५ बेड क्षमताको १, महोत्तरीमा ५० बेड क्षमताको १, सर्लाहीमा ४ सय २२ बेड क्षमताका ३, रौतहटमा १ हजार १ सय ९० बेड क्षमताका २३, बारामा १ हजार २ सय २८ बेड क्षमताका १६ र पर्सामा १ हजार २ सय ५५ बेड क्षमताका १९ वटा क्वारेन्टाइन खाली भएका छन् । 

त्यस्तै सप्तरीमा २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा १५ र पर्सामा ३ सय ८६ बेड क्षमताका सबै आइसोलेसन खाली भएका छन् महोत्तरी र सर्लाहीमा अहिले आइसोलेसन सेन्टर नै छैन । 

यस प्रदेशमा सिरहामा २६ र महोत्तरीमा ३५ जना गरी जम्मा ६१ जना व्यक्ति होम क्वारेन्टाइनमा छन् भने रौतहटमा २, बारामा ४ र पर्सामा ४ गरी १० जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

प्रदेशभर बुधबारसम्म सप्तरीमा २१ हजार २ सय १३, सिरहामा १२ हजार ४ सय ५८, धनुषामा २१ हजार ३ सय ८३, महोत्तरीमा ८ हजार ८ सय ८०, सर्लाहीमा १४ हजार ४ सय ९५, रौतहटमा २४ हजार ३ सय २२, बारामा १२ हजार ५ सय २३ र पर्सामा ३१ हजार ३७ गरी जम्मा १ लाख ४६ हजार ३ सय ३४ जनाको स्वाब परीक्षण गरिएकोमा १७ हजार २ सय २ जना संक्रमित भएका छन् भने १ लाख २९ हजार ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।



त्यस्तै, सप्तरीमा ९, धनुषामा २३ र पर्सामा २२ गरी कुल ५४ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज धनुषामा २३ र पर्सामा २२ गरी कुल ५४ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार २ सय ८८ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ६ सय ६६, रौतहटमा २ हजार १ सय ७२, सर्लाहीमा २ हजार ४७, सप्तरीमा १ हजार ८ सय ३२, महोत्तरीमा १ हजार ८ सय २६, बारामा १ हजार ७ सय १३ र सिरहामा १ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 



संक्रमितमध्ये १६ हजार ९ सय ८३ जना निको भई आ–आफ्नो घर फर्किसकेका छन् । जसमध्ये १४ हजार २४ पुरुष र २ हजार ९ सय ५९ महिला छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज यस प्रदेशमा १३८ जनाको कोरोना परीक्षण गर्दा एकजना पनि संक्रमित फेला परेका छैनन् । आज ८ जना पुरुष निको भएर आ–आफ्नो घर फर्किसकेका छन् ।

  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १९:२७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया