द हिचहाइकर्स गाइड टु द ग्यालेक्सी : जसले एलन मस्कलाई बनायाे संसारकाे दाेस्राे धनी

कल्पनाको उडान सबैभन्दा शक्तिशाली हुन्छ । कल्पनाको त्यो उडान अझ शक्तिशाली त्यो बेला हुन्छ, जब त्यसले कुनै कथाको बल पाउँछ ।

वास्तवमा हाम्रो दुनियाँ के हो ? यो संसार कसले चलाइरहेको छ ? यो संसारमा हामी के गरिरहेका छौँ ?

डग्लास एडम्सलिखित ‘द हिचहाइकर्स गाइड टु द ग्यालेक्सी’ नामक पुस्तकले पाठकको दिमागमा जीवन र जगतको अस्तित्वसँग जोडिएका यी तमाम प्रश्नले आतंक मच्चाउँछन् । मगजमा प्रश्नको भुँइचालो ल्याउने यही पुस्तक पढिरहेको थियो, १४ वर्षीय एक अफ्रिकी किशोर । 

पुस्तकले किशोरलाई कति तानिरहेको थियो भने उसले खानसमेत बिर्सिएको थियो । उसले पुस्तक पढेर ऊ थाहा पाउँदै थियो, वास्तवमा यो संसार एउटा सुपर कम्प्युटर हो । यस्तो सुपर कम्प्युटर, जुन कुनै अर्को ग्रहका मान्छेहरुले सञ्चालन गरिरहेका छन् । 

हाम्रो संसार एक्लै छैन । ब्रह्माण्डमा यस्ता अरु पनि ग्रह छन्, जहाँ थरीथरीका मान्छे बस्छन् । यस्ता ग्रह पनि छन्, जहाँका मान्छेलाई हाम्रो ग्रह र यसको सौन्दर्यबारे किञ्चित थाहा छैन । 

उनीहरुलाई अन्तरिक्षमा पुग्न पृथ्वी बाधक बनिरहेको छ । त्यसैले उनीहरु यसलाई नष्ट गर्न चाहन्छन् । ब्रह्माण्डमा एउटा यस्तो ग्रह पनि छ, जहाँका मान्छेहरु बारम्बार धर्ती बनाउँछन्, ताकि त्यहाँ गएर जीवनको वास्तविक खोज गर्न सकियोस्, ब्रह्माण्डलाई ठीकसँग बुझ्न सकियोस् । 



ब्रह्माण्डमा मानिस पनि छन्, एलियन पनि छन् अनि रोबोट पनि । जुन ग्रहका मान्छेहरु बारम्बार दुनियाँ या पृथ्वीको निर्माण गर्छन्, ती ग्रहमा पनि आर्थिक मन्दी हुन्छ, अनुसन्धानका काम प्रभावित हुन्छन् । तैपनि ती ग्रहका मान्छे फेरि अर्को पृथ्वीको आविष्कार गर्ने सपना त्याग्दैनन् । 

यी सबै कुरा पुस्तकमा पढिरहेको उक्त १४ वर्षीय बालक अचम्मित हुन्छ र सोच्न थाल्छ– के यो सम्भव छ ?



पौराणिक साहित्यमा मान्छेहरु बेलुन या कुनै पक्षीको सहारामा चढेर चन्द्रमामा जान्थे । उक्त समयमा अन्तरिक्षमा जाने विमान र रकेटको अविष्कारै भएको थिएन । एक दिन त्यो दिन पनि आयो, मान्छे भौतिक रुपमै चन्द्रमामा पुग्यो । यसको अर्थ हो– संसारमा केही पनि असम्भव छैन । अहिले एलिएन र हामीबीच एक–अर्कालाई खोज्ने प्रतिस्पर्धा चलिरहेको छ । जो ज्यादा कुशल छ, उसैले पहिला अर्कोलाई भेटाउनेछ । 

के यो खोजमा म पनि सामेल हुन सक्छु ? डगलस एडम्सद्वारा लिखित यो पुस्तकले युवकको सोच्ने तरिका नै परिवर्तन गरिदियो । उसको जीवनको उद्देश्य नै यही बनाइदियो । 

१४ वर्षको उमेर, साथी–संगीसँग निस्फिक्री हाँसखेल गर्ने उमेर हो । तर, त्यो युवकले यही उमेरदेखि एउटा मिसन बनायो । उसले आफ्नो सम्पूर्ण समय खोज तथा अनुसन्धानमा खार्चिन थाल्यो । अब किशोरले बुझिसकेको छ– हाम्रो आसपासमा हुने, हामीले देख्न सक्ने कुरा मात्र जीवन होइन । यो ब्रह्मण्ड नै जीवन हो ।

मान्छे जीवन र जगतबारे अनेकन रहस्यबारे बुझ्न सक्षम हुनुपर्छ र त्यसका लागि प्रविधि र इन्जिनियरिङ एकदमै महत्वपूर्ण हुन्छ । 

जीवनमा हरकोही एउटा यस्तो उमेरबाट गुज्रिन्छ, जतिबेला उसलाई सम्पूर्ण मानवताको रक्षा आफू एक्लैले गर्नुपर्छ भन्ने लाग्छ । जतिबेला उसलाई संसारको अस्तित्व जोगाउन म नै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ । हामी सचेत हुन्छौँ– कतै एलियनहरु हाम्रो संसारलाई विनाश गर्ने योजना त बनाइरहेका छैनन् ? यदि एलियनको योजना हाम्रो संसारलाई विनाश गर्ने छ भने हामीले हाम्रो ग्रहलाई रक्षा गर्न अर्को ग्रहमा बस्ती बसाउन जरुरी छ । 

किताब पढिरहेको उक्त किशोर थियो– एलन मस्क । पुस्तकले एलनलाई निकै बेचैन बनाउन थाल्यो । सन् १९७१ मा दक्षिण अफ्रिकामा जन्मिएका हुन्, एलन मस्क । उनी जन्मिएको राष्ट्र र परिवेशमा आफ्नो दिमागमा डेरा जमाएर बसेका कौतुहलै कौतुहलताले भरिएका प्रश्नको उत्तर पाउन सहज भएन, उनलाई । त्यसैले उनले सम्भावनाहरु खोज्न थाले । 

आफ्नी आमाको सहायताले क्यानडाको नागरिकता प्राप्त गरे, उनले । क्यानडाबाट उनले सूचना–प्रविधिको क्षेत्रमा शिखर चुमेको राष्ट्र अमेरिकाको यात्रा तय गरे । उनलाई तारामण्डलमा पुगेर ताराहरुलाई छुने हतार थियो । उनले पिएचडीको जाँच दिए, तर जाँच दिएकै पर्सिपल्टै उनले बुझे, आफूले पढ्न र जान्न चाहेको विषयलाई औपचारिक शिक्षा त्यति महत्वपूर्ण छैन । यसका लागि सीधै खोज तथा अनुसन्धानको मोर्चामा उत्रिन आवश्यक छ । र, आवश्यक छ, अनुसन्धानको मोर्चामा जान आवश्यक पर्ने साधनहरु जुटाउन । 

उनले आफ्ना भाइ र साथीसँग मिलेर एउटा आइटी कम्पनी खोले । कम्पनीले उनले अपेक्षा गरेभन्दा पनि राम्रो प्रगति गर्यो । कम्पनी एकदमै राम्रो भएपछि उनले त्यसले बेचिदिए र भए संसारका धनीहरुमध्ये एक । उनले फेरि दोस्रो आइटी कम्पनी खोले । त्यो पनि केही समयमै राम्रो भएपछि त्यसलाई पनि बेचिदिए । उनको पुँजी दोब्बर भयो । उनी दोब्बर धनी भए । 

उनको सफलताले शिखर चुम्न थाल्यो । ३० वर्षकै उमेरमा उनी आफ्नै रकेट किन्न सक्ने धनी भए । उनी रकेट किन्न रुस पुगे । तर, रुसले उनको योजना र महत्वकांक्षालाई महत्व दिएन । मस्कले रकेटको माध्यमबाट मंगल ग्रहमा बस्ती बसाउन सबैभन्दा पहिले मुसालाई या केही वृक्षलाई पठाउने योजना बनाए । आफ्नो यो योजना लिएर फेरि रुस पुगे, मस्क । यसपटक पनि उनलाई रुसले सहयोग गरेन । रुसबाट निरुत्साहित भएर फर्किंदै गर्दा जहाजमा उनको दिमागमा एउटा जुक्ति फुर्यो, आफ्नै लगानीमा रकेट बनाउने । यसलाई उनले सपना नै बनाए । केही समयपछि उनको यो सपना विपनामा परिणत भयो र फलःस्वरुप सुरु भयो– स्पेसएक्स कम्पनी । 

तर, अवसर वा चुनौती कहिल्यै एक्लाएक्लै आउँदैन । दुवै सँगसँगै आउँछन् । उनको जीवनमा पनि अवसर सँगसँगै कैयन चुनौती आए । उनले ती सबैसँग डटेर लडे । 

आफ्नो व्यापारलाई विस्तार गर्दै लगे । मोटर, कृत्रिम बुद्धिमत्ता, प्रौद्योगिकी विकासजस्ता विभिन्न उद्यम खोल्दै गए । आफूले देखेका सपनालाई हरहालतमा पूरा गर्दै जाँदा अथाह पैसा कमाए, उनले । हरेक कदममा उनलाई पैसाले चुम्दै गयो । 

एक दिन यस्तो आयो, मस्क ४९ वर्षमै संसारकै धनी व्यक्ति बने । तर, तिनै व्यक्तिको जीवनमा कुनै दिन यस्तो पनि थियो, जतिबेला उनी ‘बोइलर’को काम गर्थे । उनी त्यो कामबापत प्रतिघण्टा १८ डलर कमाउँथे । आज तिनै व्यक्ति प्रतिघण्टा १४० करोड कमाइरहेका छन् । 

त्यसैले, कल्पनाको उडान सबैभन्दा शक्तिशाली हुन्छ । 

संसारकै दोस्रो धनी व्यक्ति एलन मस्कको यो कथा भारतीय अनलाइन पोर्टल हिन्दुस्तान लाइभ डटकमबाट अनुवाद गरिएको हो । 
 

  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार २०:१५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया