महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपर भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले काठमाडौंमा उचित ट्राफिक व्यवस्थापन गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार महाशाखाले पशुपति क्षेत्रमा पूजा गर्न आउने भक्तजन एवं दर्शनार्थीहरुको भीडलाई सहज आवत जावतको प्रबन्ध मिलाएको छ । विभिन्न नाका भएर भित्रिने भक्तजनहरुको लागी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्धसमेत मिलाएको महाशाखाले जनाएको छ ।
धेरै टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागी निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको व्यवस्था मिलाएको साथै पार्किङ गर्ने स्थानहरु समेत तोकिएको महाशाखाले जनाएको छ । यस्तै, नियमित जस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।
तर, भक्तजनको भीडभाड अत्यधिक भएर सवारी संचालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण संचालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग संचालनको व्यवस्था मिलाइने समेत उनले जानकारी दिए ।
मालबाहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
दर्शनार्थी एवं भक्तजनहरुका सवारी साधनहरुलाई बनकाली खुल्ला चौर, सिफलचौर, गुह्येश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ ।
यसैगरी, पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र बनकाली भित्र राखिने छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्येश्वरी पारि पार्किङ स्थान तोकिएको छ ।
गौशाला चोकमा भीडभाड धेरै भएर सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भएर संचालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।
यस्ताे छ आजकाे ट्राफिक व्यवस्थापन
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।