जसपाको संसदीय दलको बैठक सुरु

सत्ता साझेदारीका लागि संसदको चौथो दल जनता समाजवादी पार्टीले सक्रियता बढाएको छ । 

सरकारमा जाने विषयमा तीव्र विवादमा फसिरहेको जनता समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउने कसरत गरिरहँदा विभाजनतर्फ अघि बढिरहेको जसपा संसदीय दलको बैठक सुरु भएको हो।

यो बैठकमा सरकार निर्माणका लागि कसलाई सघाउने भन्ने कुराको टुंगो लगाइने बताइएको छ। सरकारमा जाने विषयमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग बाक्लो संवाद गरिरहेका छन्।

अर्कातिर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बाक्लो छलफलमा छन्। ओली जसपालाई ल्याएर बहुमतको १३८ बनाउन चाहन्छन् भने प्रचण्ड कांग्रेस र जसपाको साथ लिएर सरकारमा जाने दाउमा छन्।

ओली-प्रचण्डको आफ्नो आफ्नो दाउको सिकार भइरहेको जसपाले अहिलेसम्म संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन। ओलीले जसपा अध्यक्ष ठाकुरलाई चुनावी सरकारको प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा भइरहेको छ।



उता जसपा वरिष्ठ नेता राजेन्द्र महतोले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने माग गरिरहेका छन्। तानातानमा परेको जसपाले संसदीय दलको नेता र सरकारमा जाँदा सघाउने दलको टुंगो लगाउनुपर्ने छ।

प्रारम्भिक छलफलमा पार्टीका अन्तरिक विषयले प्रवेश पाएको स्रोतले बताएको छ । 



सत्ता साझेदारीका लागि जसपाले आजै एमालेले बनाएको कार्यदलसँग छलफल गर्ने कार्यक्रम राखेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफलका लागि ४ बजे आफ्नै निवासमा जसपाका नेताहरुलाई बोलाएका छन् । 

  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १४:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया