जिल्ला प्रशासन कार्यालय धनुषाले मिथिला मध्यमा परिक्रमालाई मध्यनजर गर्दै धनुषाका विश्रामस्थलहरुमा पशुपन्छी बध तथा मासु, मदिरा बिक्री-वितरणमा रोक लगाएको छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।
मिथिला माध्यमिकी, पञ्चायणी तथा अन्तरगृह परिक्रमाको डोला विश्राम गर्ने प्रत्येक विश्रामस्थल तथा सोको १ किमि वरिपरिका क्षेत्रमा डोला पुग्नुभन्दा २४ घण्टा अगावैदेखि लागू हुनेगरी पशुपन्छी बध तथा मासु, मदिरा बिक्री-वितरण एवं सेवन नगर्न सहायक प्रजिअ कर्णले आग्रह गरेका छन् ।
१५ दिने मिथिला मध्यमा परिक्रमाका विश्रामस्थलहरु अन्तरगत फागुन २९ गते शनिबार हनुमानगढी, चैत ८ गते आइतबार पर्वता, चैत ९ गते सोमबार धनुषाधाम, चैत १० गते मंगलबार सतोषर, चैत ११ गते बुधबार औरही, चैत १४ गते शनिबार जनकपुरधाममा पशुपन्छी बध तथा मासु, मदिरा बिक्री-वितरण एवं सेवन नगर्न आग्रह गरिएको छ ।
त्यस्तै चैत १५ गते आइतबार जनकपुरधाममा श्रद्धालुहरुले अन्तरगृह परिक्रमा गर्ने भएकाले सो दिन समेत मासु, मदिरा बिक्री-वितरण नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।