प्रदेश प्रमुखले पढाए कक्षा १ का बालबालिकालाई

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजले शुक्रबार जनकपुरधामको सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ का विद्यार्थीलाई पढाएका छन् । 

प्रदेश प्रमुख झाले शिक्षामा जोड दिने उद्देश्यका साथ आफू विद्यालयमा पुगेर कक्षा १ मा अध्ययनरत विद्यार्थीलाई पढाएको बताए ।  

प्रदेश प्रमुख झा शुक्रबार दिउँसो १ बजे विद्यालयमा पुगेका थिए । उनी कक्षा १ मा आधा घण्टा बालबालिकाहरूसँग बसेका थिए । विद्यालयको शैक्षिक अवस्था तथा शिक्षकहरुको समस्या बुझ्न उनी त्यहाँ पुगेका थिए । प्रदेश प्रमुख झा अन्य विद्यालयहरुमा समेत पुग्ने बताइएको छ ।

विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले विद्यालयमा प्रदेश प्रमुखको आगमनले शिक्षकहरूमा देखिएका कमी कमजोरी समेत उजागर भएको र यसले त्यसलाई सुधार गर्ने प्रेरणा समेत मिलेको बताए । उनले भने, ‘कक्षा १ बाट नै सबैको अध्ययनको सुरुवात हुने भएकाले प्रदेश प्रमुखज्यूले कक्षा १ मै पढाउने इच्छा व्यक्त गर्नुभयो ।’

प्रदेश प्रमुख झाले कक्षा १ मा अध्ययनरत बालबालिकालाई पढाएपछि विद्यालयको जीर्ण भवन,  शिक्षामा देखिएको कमिकमजोरीमा समेत सुधार्न ल्याउनु पर्ने लगायतका विषयमा शिक्षकहरूसँग कुराकानी गरेका थिए ।

देशमा दर्जनौं हस्ती उत्पादन गरेको जनकपुरधाम–९ स्थित यस ऐतिहासिक विद्यालयको जर्जर अवस्थाबारे समेत उनले प्रधानाध्यापक मण्डलसँग जानकारी लिएका थिए । 



विसं २००४ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा अहिले ८५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सरस्वती विद्यालयबाट पूर्व राष्ट्रपति डा. रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ लगायतका दर्जनौं नेताहरु अध्ययन गरेका हुन् ।



  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १९:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया