'को भन्दा को कम'को अवस्थामा ओली र नेपाल पक्ष

सर्वोच्च अदालतले नेकपा एमाले ब्यूँताएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्ष एकले अर्कालाई पछि पार्ने तरिकाले प्रस्तुत भइरहेका छन् । सुर्खेतमा पनि ओली पक्ष र नेपाल पक्षबीच विवाद देखिएको छ । ओली पक्ष र माधव नेपाल पक्ष को भन्दा को कमको अवस्थामा पुगेका छन् । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विगठन गरेपछि नेपाल पक्षले त्यसको विरोध गरेको थियो भने ओली पक्षले समर्थन गरेको थियो । पछि अदालतले संसद पुनःस्थापना गर्दा नेपाल पक्ष खुसी भएको थियो । अन्तिम समयसम्म प्रचण्ड पक्षको साथमा रहको नेपाल पक्ष सर्वोच्चले पार्टी ब्यूँताएपछि बाध्य भएर एमालेमै फर्किएको थियो । 

सर्वोच्चको फैसला पछि फागुन २४ गते पूर्वएमाले र माओवादी फरकफरक तरिकाले जाने निर्णय गरे । त्यसको भोलिपल्ट फागुन २५ गते पार्टी कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री ओली पक्ष र माधव नेपाल पक्ष आ–आफ्नै तरिकाले अग्रसर भए । 

जिल्ला कमिटीमा स्पष्ट बहुमतमा रहेको नेपाल पक्षले बिहान ११ बजे पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम राख्यो । तर, ओली पक्षले साढे १० बजे नै आएर ओलीको फोटो सहितको ब्यानर राखेर कार्यालय उद्घाटन गर्यो । यसरी दुई पक्षबाट फरक फरक समयमा कार्यालयको उद्घाटन भएको थियो । 

सोही दिन दिउँसो करिब ३ बजेतिर युवा संघमा आवद्ध ओली पक्षका नेताहरुले जिल्ला अध्यक्ष, सचिव, नगर अध्यक्षको कार्यकक्षमा ताला लगाए । पछि नेपाल पक्षले २६ गते बुधबार दिउसो करिब १ बजेतिर सबै ताला फुटाएको थियो । एमालेको जिल्ला कमिटीमा अध्यक्ष ध्रुवकुमार शाही, उपाध्यक्ष अमृत बिसी, सचिव मोहन बडुवाल लगायतका पदाधिकारी सबै नेपाल पक्षका छन् । 

स्रोतका अनुसार ओली पक्ष र नेपाल पक्ष एकले अर्कालाई कार्यालय भित्र छिर्नसमेत नदिने अवस्था सृजना भएको छ । पार्टी २०७५ जेठ अघिकै अवस्थामा फर्किएकाले स्वतः आफूहरु पुरानै जिम्मेवारी अनुसार अघि बढ्न खोज्दा समस्या आएको नेपाल पक्षले बताएको छ । नेकपा एमालेको विधान अनुसार आफूहरु अधिवेशनबाट चयन भएको भन्दै उनीहरुले अर्को अधिवेशन नहुञ्जेलसम्म ओली पक्षले जति पटक ताला लगाए पनि फुटाउन तयार भएको बताएको छ । 



‘आफूहरु पार्टी भित्र मिलेर जाने खोजेपछि ओली पक्ष विभिन्न अराजक गतिविधिमा अघि छ,’ युवा संघमा आवद्ध नेपाल पक्षका एक जना नेताले भने, ‘अहिले त पार्टीभित्र को भन्दा को कमको अवस्था सृजना भएको छ । संसद विघटन पछि विरोधमा लागेका हामीलाई ओली पक्षले अर्कै पार्टीको भन्ने नजरले हेरिरहेको छ ।’

सर्वोच्च अदालतले पार्टी ब्यूँताएपछि केन्द्रबाट नै एमाले र माओवादी छुट्टिएकाले केन्द्रको निर्देशन नआएसम्म कार्यालय बन्द राखौँ भनेर ताल लगाएको ओली पक्षले बताएको छ । ‘हामीले केन्द्रको निर्देशन नआएसम्म कार्यालय बन्द गरौँ । सबै हिसाब किताब गरेर सबैको सहमतिमा जाऔँ भनेको हो ।’ युवा संघ सुर्खेतको सचिवालय सदस्य एवम् ओली पक्षीय नेता सुरज थापाले भने । तर, नेपाल पक्षले आफूहरुलाई जानकारीबिना नै ताला फुटाएको उनको आरोप छ । 



पूर्ववत् रुपमा पार्टी एमालेमा फर्किएपछि पार्टी कार्यालय बन्द गर्न नहुने एमाले सुर्खेतका सचिव मोहन बडुवालले बताए । ‘सुर्खेतमा मात्रै नभएर देशैभर पार्टी कार्यालयहरु पुनःस्थापना भएर सञ्चालनमा आएका छन्,’ उनले भने, ‘केही साथीहरुले हिसाब माग गर्दै तालाबन्दी गर्नुभएको रहेछ । मैले उहाँहरुलाई सबै हरहिसाब लिन भनेको छु । उहाँहरुले खोज्नु भएको सबै कुरा हामी दिन तयार छौँ । तर, यसरी तालाबन्दी गर्न पाइँदैन ।’ ताला लगाएर समस्याको समाधान नहुने भन्दै युवा संघका नेताहरुले ताला फुटाएको उनको भनाइ छ ।
 
एमाले सुर्खेतको आठौँ अधिवेशन नहुञ्जेलसम्म आफूहरु नै नेतृत्वमा रहने भन्दै सचिव बडुवालले सबै पक्षलाई मिलेर जान आग्रह गरे । ‘म पार्टीभित्र एकताको पक्षमा छु,’ उनले भने, ‘तर, यहाँ सहमतिअनुसार पार्टी सञ्चालन गर्न गाह्रो हुने अवस्था देखिएको छ ।’

  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार ९:३४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया