रिलायन्स स्पिनिङ मिल्सको १४ लाख कित्ता आइपिओ बुक बिल्डिङ विधिबाट निष्काशन हुने

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधिमार्फत् साधारण सेयर (आइपिओ) बिक्रीमा ल्याउने तयारी गरेको छ । कम्पनीले १४ लाख ६० हजार कित्ता आइपिओ  निष्काशन गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । 

आइपिओ निष्काशनको सम्बन्धमा रिलायन्स स्पिनिङ मिल्स र आइएमई क्यापिटल बीच सेयर निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको रिलायन्स स्वयंले जनाएको छ । रिलायन्स स्पिनिङ मिल्सको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान समेतको उपस्थितिमा सम्पन्न भएको एक कार्यक्रममा मिल्सका तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

२०५१ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत रूपमा दर्ता भई सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो यस स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् १४ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत सेयर संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर भने सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले बताएको हो ।

करिब ४५ सयलाई रोजगारी प्रदान गरिरहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ । उच्च प्रविधियुक्त स्पिनिङ प्लान्ट र मेसिनरी जडान गरी कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक र्यान लगायत सिउने धागोहरू विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

पछिल्लो समय कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरू विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्दै आएको छ ।





  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १४:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया