सत्ताको लोभले फुटको सँघारमा जसपा
शीर्ष नेताको विवादले गुटैगुटको टापु बन्यो पार्टी

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गर्दै साविककै एमाले र माओवादी केन्द्र कायम गरिदिएपछि संघमा सत्ताको हानथाप सुरु भएको छ। 

एमाले र माओवादी साविक दल भएपछि गठबन्धनमा परिणत सरकार जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर सम्वादमा छन्। एकलौटी सरकार चलाउन बहुमत नभएपछि ठूला तीन दल साना दललाई तान्न कम्मर कसेर जुटेका छन्। 

२०७५ जेठ ३ मा एमाले र माओवादी मिलेर नेकपा बनेपछि सरकारमा बहुमत थियो। तर सर्वोच्च अदालतले गरेको फैसलापछि दुवै दल पुरानै अवस्थामा फर्किँदा सरकार पनि गठबन्धनको भइसकेको छ। अर्थात अहिले एमालेको सरकारलाई माओवादी केन्द्रले समर्थन त गरिरहेको छ तर बाध्यताले मात्रै।

नेकपा खारेज भएर साविकका दल फर्किएपछि सत्तारुढ एमालेबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न बाँकी सबै दल एक ठाउँमा उभिनुपर्ने बाध्यता छ। त्यो भनेको, कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिएको अवस्था हो । यी तीन दल एक नभएसम्म सरकार फेरबदल सम्भव छैन।

यदि तीन नजुटेमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढाल्न सक्ने अवस्था छैन । अर्कातिर ओलीलाई जसपाले मात्रै समर्थन गरिदिए सरकार चलिरहन्छ । त्यसैले सरकार निर्माणको खेलमा जसपा अहिले ‘सलाई रिन्च’ बनेको छ । अर्थात जसपा अहिले  कांग्रेस, एमाले र माओवादी केन्द्र जता पनि फिट हुने अवस्थामा छ। त्यहीकारण सत्तारुढदेखि प्रतिपक्षी दलहरु जसपासँग म्याराथन वार्तामा जुटिरहेका छन्। 

'माल्दा आम' जसपा 



५ पुस अगाडि आफ्नो माग सम्बोधन गराउन जसपा ठूला दलकहाँ धाइरहन्थ्यो। तर अहिले दृश्य फेरिएको छ, ठूला दलका नेता जसपकहाँ धाउँछन्, निम्तो पठाएरै सत्कार गरिरहन्छन्। जसपालाई अहिले सबै दलले माग सम्बोधन गर्ने आश्वासन दिइरहेका छन् । 

यो प्रतिवद्धतामा सत्तारुढ एमाले सबैभन्दा अगाडि देखिएको कुरा जसपा अध्यक्ष महन्थ ठाकुरको भनाइले पुष्टि गर्छ। उनले सत्ता सहयात्रामा सबैभन्दा नजिक एमालेसँग भएको बताइरहेका छन्। तर उनकै दलका अन्य नेता कोही माओवादी केन्द्रसँग त कोही कांग्रेससँग नजिक छन्। 



ठूला दलको बाध्यात्मक रोजाइ जसपा अहिले ‘माल्दा आम’ जस्तै बनेको छ । अर्थात सबैको प्यारो छ जसपा । यही फाइदा लिन जसपाले सरकारमा जाने आन्तरिक निर्णय गरेको छ । तर संसदीय दलको नेताको अझै टुंगो लागेको छैन। सरकारमा जाने सम्भावना बढेपछि चारैजना शीर्ष नेता आकांक्षी देखिएपछि हलो अड्किएको छ।

सबैको बेग्लै दाउ

जसपा सरकारमा जान तयार छ। तर कुन पार्टी र कसको नेतृत्वमा? अहिले यही कुराले जसपामा रडाको चलिरहेको छ। आफ्नो तीन बुँदे एजेण्डासहित वार्तामा रहेको जसपाभित्र शीर्ष नेताहरुबीच चर्को शक्ति संघर्ष चलिरहेको छ। यो संघर्षमा अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजेन्द्र महतो छन्। उनीहरु चारैजनाले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने ढिपी कसिरहेका छन्। 

शक्ति संघर्ष यति पेचिलो भएको छ कि संसदीय दलको नेतासँगै अन्य दलसँग वार्ताका लागि बनाइएको  कार्यदलमा एकजनाको नामसमेत थप्न सकिएको छैन। अर्थात्, शीर्षस्थ नेताहरु बेग्लाबेग्लै दाउसहित बसेका छन्। अध्यक्ष ठाकुर सकेसम्म प्रधानमन्त्री नै बन्ने रणनीतिमा छन्, त्यही रणनीति भट्टराईका पनि छ। अर्कातिर राजेन्द्र महतो र उपेन्द्र यादव पनि आफ्नो नेतृत्वमा अन्य दलको सरकारमा जाने योजना बनाइरहेका छन्। त्यहीकारण जसपामा आन्तरिक लडाइँ चलिरहेको छ।

नेता चयनमै सकस

जसपाको आन्तरिक लडाइँ पुष्टि गर्ने दुई उदाहरण हेरौँ। पहिलो संसदीय दलको नेता चयन र कार्यदल विस्तारको हलो अड्किुन। दोस्रो, दलको बैठकको दिन तीन शीर्षस्थ नेताबीच भएको घण्टौँ गोप्य बैठक। शुक्रबार खासमा दलको नेता चयन गर्ने तयारीमा थियो जसपा ।

तर उपेन्द्र यादव र राजेन्द्र महतोदेखि अन्य नेता पनि इच्छुक देखिएपछि विवाद बढ्यो । जुन कुरामा सहमति जुटाउन यी तीनै नेता अध्यक्ष यादवको कार्यकक्षमा गोप्य वार्ता प्रयास गरे, जुन असफल भयो । सहमति नभएपछि दलको बैठक बिना निष्कर्ष सकियो ।

कुन गुटको के स्वार्थ ?

अब प्रश्न आउँछ किन जुट्न सकिरहेको छैन त जसपा? हो, हामीले यही सवालबारे जिज्ञासा राख्दै जाँदा नेताहरुमा आपसी द्वन्द्व र गुटगत कुरा मुख्य कारक रहेको बनेको छ । अर्थात् चारै शीर्ष नेताहरु चारथरी स्वार्थ बोकेर हिँडिरहेका छन्। 

उपेन्द्र–राजेन्द्र

अहिले जसपामा दुईवटा शक्तिशाली गुट छन्। एउटा, उपेन्द्र र बाबुराम भट्टराईको अर्को महन्थ र राजेन्द्रको । उपेन्द्रले ओलीसँग रिसिबी साँध्न उनीसँग मिलेर सरकारमा नजाने अडान लिइरहेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो सरकारबाट बेइज्जत गरेर निकालेको तुष उनले अझै बोकिरहेका छन्। 

त्यहीकारण उनी प्रधानमन्त्री ओलीलाई असफल पार्न लागेका छन् । यही खेलमा उनकै सहयात्री बाबुराम भट्टराई पनि लागेका छन् । गोरखामा नारायणकाजीलाई नेकपाबाट टिकट दिलाउनमा ओलीकै हात रहेको उनको बुझाइ छ। 
उनी त्यहीकारण प्रचण्डलाई साथ दिन तयार भएका छन्। ओलीविरोधी मत मिलेकाले डा.बाबुराम र उपेन्द्र एक कित्तामा उभिएका छन् । यी दुवैको एउटै स्वर छ–ओलीको सरकारमा सहभागी भइँदैन। स्रोत भन्छ, ‘बाबुरामसँग धेरै सांसद नरहेकाले उनी बाध्यताले यादवलाई साथ दिन लागेका हुन्। 

ठाकुर–महतो 

अर्को गुट हो महन्थ ठाकुर र राजेन्द्र महतोको । ‘जसले रेशम चौधरी र मधेसवादी नेतामाथि लागेका मुद्दा फिर्ता गर्छ, उसैकहाँ गइन्छ । जुन माग पूरा गर्न प्रधानमन्त्री तयार देखिएका छन्’, ठाकुर भन्छन्। 

बिहीबारको भेटघाटमा यही सवालमा ओलीले भनेका थिए, ‘तपाईंहरुको माग पूरा भयो भने के गर्नुहुन्छ?’ यही भनाइले ठाकुरलाई लागेको छ, ‘अरु सरकारभन्दा ओली माग पूरा गर्छन, त्यसैले ओलीलाई नै समर्थन गर्नुपर्छ । अरुबाट त्यो हुन सक्दैन।’ 

स्रोतका अनुसार ठाकुर अहिले प्रधानमन्त्री ओलीसँग सबैभन्दा नजिक छन् । ठाकुरको उद्देश्य, ‘आफ्ना माग पूरा गराउनु ।’ यता महतो भने ठाकुरसँग मिलेर मधेसको माग पूरा गराउने दाउसहित संसदीय दलको नेता बन्ने खेलमा छन् । उनको बुझाई छ, ‘जसपमा ठाकुर बलियो छन्, यिनको समर्थन पाएपछि सजिलै दलको नेता बन्न सकिन्छ ।’ दलको नेता बन्ने स्वार्थमा उनी धेरै सांसद होल्ड गरेका ठाकुरसँग नजिकिएका छन् ।

अर्कातिर डा. भट्टराई र पार्टी अध्यक्ष यादव पनि संसदीय दलको नेता बन्न इच्छुक रहेको स्रोत बताउँछ । जसले गर्दा महतोलाई बाबुराम र उपेन्द्र भन्दा ठाकुर नै नजिक बनेका छन् ।

शंका आशंका

जसपाका चारै नेताहरुको स्वार्थ बाझिँदा एकअर्काप्रति सशंकित बनेका छन् । यो कुराको पुष्टि बिहीबारको प्रधानमन्त्री ओलीसँगको भेटलाई लिन सकिन्छ । स्रोतका अनुसार त्यस दिन प्रधानमन्त्री ओलीले ठाकुरलाई मात्रै भेट्न बोलाएका थिए । 

तर ठाकुरप्रति विश्वास नभएकाले त्यो बैठकमा अध्यक्ष यादव पनि पुगे । तर नबोलाइएका कारण डा. भट्टराई बालुवाटार गएनन् । आफ्नो इच्छाविपरीत सहमति नहोस भनेर यादव बालुवाटार गएको बैठकमा गएको स्रोतको भनाइ छ ।

प्रतिनिधि सभामा जसपाबाट ३४ जना सांसद छन् । जसमध्ये रेशम चौधरी र हरिनारायण रौनियारको हैसियत निलम्बित अवस्थामा छ। बाँकी ३२ सांसदमा दुवै पार्टीका तर्फबाट १६/१६ जना सांसद छन्।

  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १६:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया